गैंडाकोटको सीताराम मन्दिरमा सीतारामको विवाह गरी मनाइयो विवाह पञ्चमी

२०८२ मङ्सिर ९ मंगलबार १९:००:०० मा प्रकाशित

गैंडाकोट । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सिताको पूजा आराधना गरी मनाइएको छ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाइएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाम लगायतका सीता राम मन्दिरहरुमा भगवान् सीता र राम मानी उनीहरुको विवाह गराइदिई यस पर्व मनाइएको छ । त्यस्तै, सीताराम विवाह पञ्चमीको अवसर पारेर गैंडाकोट ६ मा रहेकोे सीताराम मन्दिरले पनि सीता र रामको स्मरणमा सीतारामको विवाह गराएको छ । सिताराम मन्दिरबाट श्रीराम भगवानतर्फको बरियात नौमती बाजा र भजन कृर्तनसहित प्रस्थान भई वधुपक्ष श्री महादेव मन्दिर पुगेर श्री सीतारामको वैवाहिक उत्सव मनाउँदै फर्किइ विवाह सम्पन्न गरिएको थियो । 


यस दिन राजा जनकले पुत्री सीताको स्वयम्बर आयोजना गरी सीतारामको विवाह गरिदिएको शुभदिनको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाइँदै आएको मूलवाचक पण्डित चेतराज कण्डेलले बताउनुभयो । उहाँका अनुसार आजको दिन विवाह गरे सम्बन्धमा स्थायित्व आउने र शुभ फल प्राप्त हुने जनविश्वास छ । यस दिन कन्यादान गर्ने बाबुआमाको यमलोक र परलोक सुधारिने तथा विवाह गर्ने जोडीको वैवाहिक जीवन सुखमय रहने विश्वास रहेको छ । त्यसैगरी आजको दिन जानकीधाम वा सीताराम मन्दिरमा पूजा-अर्चना गरी सहभागी भए मात्र पनि पारिवारिक सम्बन्धमा सौहार्द, शान्ति र समृद्धि आउने पण्डित कण्डेलको भनाइ छ ।


सीताराम मन्दिरले बालाचर्तुदशीको दिनदेखि नै सप्तदिवशीय श्रीभानुभक्तीय रामायणपाठ एवं कथापारायण ज्ञानयज्ञ  पण्डित चेतराज कंडेलको मुखारविन्दुबाट कथा तथा हेमराज आचार्यद्धारा पूजा, पाठपारायण गरिएको थियो । मन्दिरले मंसिर ७ गते मन्दिर परिसरमा साधारण सभाको कार्यक्रम गरेको छ भने आज मंगलबार सीतारामको विवाह तथा लक्ष्यदीप प्रज्ज्वलन गरी यज्ञको पनि समापन गरेको छ ।