नेपालमा पहिलोपटक बाथरोगको ‘जेनेटिक’ परीक्षण सुरु
काठमाडौँ । नेपालमा पहिलोपटक बाथ रोगको अनुवाङ्शिक ‘जेनेटिक’ कारण पत्ता लगाउन नयाँ तीनवटा परीक्षणको सुरु गरिएको छ । नेक्स जेन ल्याब सोलुसनले तीन किसिमका बाथरोग पत्ता लगाउन तीन किसिमका जेनेटिक परीक्षणको सुरुआत गरेको हो ।
सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेले नेपालमा पहिलोपटक बाथ रोग पहिचानका लागि नयाँ तीन परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बाथरोथ पहिचानका लागि ‘एचएलए–डिआरफोर’, ‘एचएलए–बी५१’, ‘एचएलए–बी२७ तीन प्रकारका परीक्षण भित्र्याएको हो । उहाँले उक्त विधिबाट बाथरोगको सुरुआती अवस्थामा नै रोग पत्ता लगाउन सकिने भएकाले बिरामीलाई उपचार गर्न सजिलो हुने बताउनुभयो । ती परीक्षणबाट बाथ रोगको पहिचान चाँडै गरेपछि बिरामीले लामो समयसम्म औषधि सेवन गर्न नपर्ने प्रबन्ध निर्देशक पाण्डेले बताउनुभयो ।
यसअघि बाथ रोग पत्ता लगाउन ती तीन प्रकारका परीक्षण गर्न विदेश नमूना विदेश पठाउनु पर्दथ्यो । ‘एचएलए–डिआरफोर’ अमेरिका र ‘एचएलए–बी५१’ तथा ‘एचएलए–बी२७ को परीक्षण भारत पठाउनु पर्दथ्यो । बाथ रोग सेन्टरका बाथरोग विशेषज्ञ डा सुधिर कर्माचार्यले बाथरोग पहिचान गर्न तीन प्रकारका परीक्षण नेपालमा हुने भएपछि बिरामीको उपचारमा पनि सहज हुने बताउनुभयो ।
अब परीक्षण नेपालमा हुने भएपछि बिरामीको परीक्षण गर्न विदेश पठाउनुपर्ने झन्झट हटेको छ ।विशेषज्ञ डा कर्माचार्यका अनुुसार नेपालमा कुल जनसङ्ख्याको २८ प्रतिशतलाई कुनै न कुनै बाथरोग लाग्ने गरेको छ । धेरैजसोलाई गठिया र युरिक एसिड जस्ता बाथरोग लाग्ने गरेको उहाँको भनाइ छ । बाथरोग लागेकामध्ये १० प्रतिशतको मात्र समयमा नै उपचार हुने गरेको छ ।
विशेषज्ञ डा कर्मचार्यले बाथरोग लाग्ने बित्तिकै थाहा पाएमा केही महिनाको औषधि सेवन गरेपछि निको हुने बताउनुभयो । उहाँले बाथरोग फैलिँदै गयो भने बिरामीले जीवनभर औषधि खाएर बाथरोगलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । रासस