रत्ननगरमा अझै २ सय ५० बढी अपाङ्गता परिचयपत्रविहीन
रत्ननगर । रत्ननगर नगरपालिकाभित्र अझै २ सय ५० बढी अपाङ्गता भएका व्यक्तिहरु परिचयपत्रविहीन रहेको पाइएको छ । नगरस्तरीय अपाङ्गता समन्वय समितिका अनुसार प्रक्रिया पूरा गर्न नसकेका कारण २ सय ५० भन्दा बढी मानिसहरु अपाङ्गता परिचयनपत्रविहीन भएका हुन् ।
नगरस्तरीय समन्वय समितिका अध्यक्ष मीनराज खनालका अनुसार रत्ननगरमा एक हजार एक सय अपाङ्गता भएका व्यक्तिहरु रहेकोमा ८ सय ५० जनाले मात्र परिचयपत्र प्राप्त गरेका छन् भने ‘कागजात पु¥याउन नसकेका, पहुँचमा आउन नसकेका, नागरिकता नबनेका र हराएका व्यक्तिहरुको परिचयपत्र बन्न सकेको छैन’। त्यस्तै, ‘सामाजिक प्रतिष्ठालाई जोडेर अभिभावकले खुलाउन नचाहेकाहरु पनि परिचयपत्रविहीन अवस्थामा रहेका छन् ।’ राज्यले प्रदान गर्ने सेवासुविधा र अवसरका बारेमा जानकारी नहुँदा पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र दिने प्रयत्न नगरिएको अध्यक्ष खनालको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिले चार प्रकारको परिचयपत्र पाउने व्यवस्था सरकारले गरेको छ । अपाङ्गताको प्रकृतिको आधारमा क, ख, ग र घ वर्गको परिचयपत्र दिने व्यवस्था रहेको छ । क वर्गले मासिक ३ हजार ९ सय ९०, ख वर्गले मासिक २ हजार १ सय २८ रूपैयाँँ सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था रहेको छ । ग र घ वर्गले मासिक भत्ता नपाए पनि राज्यका विभिन्न निकायमा छूट सेवा पाउने छन् ।
यसैबीच, रत्ननगर नगरपालिकामा अपाङ्गता भएका व्याक्तिहरुको अधिकार, सशक्तीकरण तथा अपाङ्गतामैत्री नगर निर्माणमा सञ्चालित क्रियाकलापको उपलब्धि मापन गर्न समीक्षा कार्यक्रम गरिएको छ । नेत्रहीन महिला संघ नेपालले आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको विकास र सशक्तीकरणमा आधारित तीनवर्षे परियोजनाले नगरभित्र गरेका कामको उपलब्धि मापन गरिएको छ ।