नवलपुरमा आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको फाइनल मङ्सिर १४ र १५मा हुने
नवलपुर । जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको फाइनल विनयी त्रिवेणीमा हुने भएको छ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसाथ गर्दै जिल्ला स्तरीय आठौं राष्ट्रपति रनिङशील्ड प्रतियोगिता यही मङ्सिर १४ र १५ गते हुने भएको हो ।
प्रतियोगिताको फाइनलको लागि जिल्ला खेलकुद विकास समिति नवलपुरले शनिबार बैठक बसी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष शेतबहादुर पुनले जानकारी दिनुभयो । बैठकले प्रतियोगिताको लागि विभिन्न खेलको उपसमिति समेत गठन गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्डो, कराँते, एथलेटिक्सका विभिन्न विधामा छात्र र छात्राको प्रतिस्पर्धा हुने भएको हो। प्रतियोगिताका सम्बन्धित खेलका लागि जिल्ला खेलकुद विकास समितिले खेल संयोजक समेत तोकेको छ । प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमको संयोजकतामा जुरी टिम पनि चयन गरेको छ।
नवलपुरमा रहेका आठवटा पालिकाबाट पालिका स्तरीय रनिङशील्ड प्रतियोगितामा प्रथम भएका टिमहरूले मात्रैे सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका सदस्य लक्ष्मण कार्कीले बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ मा हुने आठौं राष्ट्रपति रनिङशील्डको फाइनल प्रतियोगितामा करिब १ हजार जनाले सहभागिता जनाउने भएका छन्।