महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड
बागलुङ । मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा महायज्ञ आयोजना गर्न लागिए पनि त्यसभन्दा अघि नै उक्त रकम जम्मा भइसकेको मानव सेवा आश्रमका अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
आश्रमका लागि विभिन्न व्यक्ति र धौलागिरिका पालिकाहरुबाट रकम प्राप्त भएको उहाँको भनाइ छ । महायज्ञबाट रु १० करोड सङ्कलन गर्ने लक्ष्य लिइएको छ । त्यसबाट तीन वर्षअघि निर्माण सुरु भएको भवन निर्माणमा रु पाँच करोड गर्ने र बाँकी रकमको अक्षयकोष स्थापना गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।
हालसम्म बागलुङ नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिकासहित बागलुङ नगरपालिका-३ गुठीका उज्जवल खड्काले भवनको एक कोठा निर्माणका रु पाँच लाख ११ हजार १११ सहयोग गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार बागलुङ नगरपालिका-३ का स्वर्गीय लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उहाँको परिवारबाट रु पाँच लाख ११ हजार १११, देउरालीचोक आमा समूहबाट रु एक लाख, गलकोट नगरपालिका–३ का लिला साहनीको परिवारले रु ५० हजार, नगरपालिका-३ का रुद्रा केसीबाट रु ५१ हजार १११, रेनुका अधिकारीको परिवारबाट रु ५० हजार ५९८ सहयोग प्राप्त भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
अध्यक्ष अधिकारीले भन्नुभयो, “मानव सेवा आश्रमका लागि महायज्ञ सुरु नहुँदै सहयोग आउने क्रम जारी छ, यसले हामीलाई थप ऊर्जा थपेको छ, हामीहरु निरन्तर लागि रहेका छौँ, धौलागिरिका बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका पालिकासँग सहयोग मागेका छौँ ।”
निर्माणाधीन भवन आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मानव सेवा आश्रम बागलुङकी सञ्चालक विपना तामाङले बताउनुभयो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने उहाँको भनाइ छ । २०० जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको तामाङले बताउनुभयो ।
आश्रम निर्माणमा हालसम्म रु पाँच करोडभन्दा बढी खर्च भएको उहाँको भनाइ छ । हाल आश्रमको बागलुङ शाखामा मात्रै ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक रु १० लाखभन्दा बढी खर्च हुने गरेको सञ्चालक तामाङले बताउनुभयो । रासस