नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

२०८२ असोज २७ सोमबार १३:२०:०० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ ।


मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्रचार गरिएको जानकारी दिनुभयो । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।


पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीका अनुसार तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

 

मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइनेसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । यस्तै मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउन समेत आग्रह गरेको छ । रासस