पठन संस्कृतिलाई अभियानको रूपमा विकसित गर्नुपर्नेमा लेखक नारायण गाउँलेको जोड

गैंडाकोट । लेखक तथा विश्लेषक नारायण गाउँलेले पठन संस्कृतिलाई अब अभियानकै रूपमा विकसित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ।
सामुदायिक रेडियो विजय एफएमको आयोजनामा भएको पठन संस्कृति अभियानको १७औँ श्रृङ्खलामा बोल्दै उहाँले अध्ययन र लेखन जीवनका कमजोरी सुधार्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। गाउँलेले सृष्टिमा नभएर दृष्टिमा कमजोरी हुने भएकाले त्यसलाई सुधार्न अध्ययन र पढ्ने बानीको विकास अनिवार्य रहेको बताउनुभयो । उहाँले परिवर्तन भोगिरहेको वर्तमान पुस्ताले परिवर्तनसँगै अध्ययनशील बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “सपना पूरा गर्न पढ्नैपर्छ, अध्ययन नै सपना पूरा गर्ने मार्ग हो।”
जीवनमा जागिर, घर–घडेरी वा व्यक्तिगत लक्ष्य हासिल गर्न पनि पढाइ र पठन संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताउँदै गाउँलेले चेतना र ज्ञान अभिवृद्धिका लागि पढ्ने बानीलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले पठन संस्कृतिको विकासका लागि नगरपालिका लगायत सरोकारवाला निकायले अभियानमा दिएको साथप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुस्तकका विषयमा विभिन्न वक्ताहरूले विचार प्रस्तुत गरेका थिए। संसार सापकोटाले वैदिक दर्शन ः वैज्ञानिक क्रान्तिको दार्शनिक संश्लेषण पुस्तकबारे चर्चा गर्नुभयो भने मेनका चापागाईंले बखान पुस्तकको समीक्षा प्रस्तुत गर्नुभयो। त्यसैगरी शंकर आचार्यले दिए पुग्छ र सम्भव छ पुस्तकबारे आफ्नो धारणा राख्नुभयो। कार्यक्रममा उदित प्रकाशले सत्यजीत रे का कथा र पवित्रा पराजुलीले ल्हासाको खबर पुस्तकमाथि परिचर्चा गर्नुभएकोे थियो।
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार पठन संस्कृति अभियानले समुदायमा अध्ययन र पुस्तकप्रतिको रुचि अभिवृद्धि गर्न ठूलो योगदान पु¥याएको छ। सापकोटाका अनुसार यो अभियान २०८१ साल वैशाख १५ गतेबाट सुरु भएको हो र हरेक महिनाको अन्तिम शनिबार विजय विकास स्रोत केन्द्रको सभाहलमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
अभियानअन्तर्गत सहभागीहरूलाई पुस्तक उपलब्ध गराइने, पढिसकेपछि फिर्ता गर्ने र पुस्तकका बारेमा आफ्ना विचार तथा अनुभव साटासाट गर्ने गरिन्छ। यसले समुदायमा पठन संस्कृतिको जग मजबुत बनाउन मद्दत गरेको आयोजकले जनाएको छ।