देवघाटको विद्युतिय शवदाह गृह भरतपुर महानगरको स्वामित्वमा

२०८२ असोज २४ शुक्रबार १४:३८:०० मा प्रकाशित

चितवन । चितवनको देवघाटमा निर्मित विद्युतिय शवदाह गृह भरतपुर महानगरपालिलाई हस्तान्तरण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरी भरतपुर महानगरपालिकी मेयर रेनु दाहाललाई हस्तान्तरण गरेको हो ।


हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर दाहालले योजना बनाएर विद्युतिय शव दाह गृह व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउनुभयो । भरतपुरमा सहरी विकास मन्त्रालयबाट विकास निर्माणका कामहरु धेरै भएको बताउँदै उहाँले देवघाटमा आवश्यक परेको शव दाह गृह निर्माण गरेकोमा समेत धन्यवाद  दिनुभयो । उहाँले सहरी विकास मन्त्रालयबाट भरतपुरमा ६५ किलोमिटर सडक, भरतपुरको प्रशासनिक भवन, भरतपुर अस्पतालको कुरुवा घर लगायतका विभिन्न भवन निर्माण भइरहेको समेत बताउनुभयो ।


भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले चितवन सहित छिमेकी जिल्ला बासीलाई विद्युतिय शव दाह गृहले सेवा पुर्याउन सहयोग गर्ने बताउनुभयो । विद्युतिय शव दाह गृह वातावरणीय दृष्टिले पनि राम्रो हुने बताउनुभयो ।

देवघाटमा २०७५ साल माघ महिना सम्झौता भएको शव दाह गृहको निर्माण समय २०७७ साउन ३० गतेसम्म तोकिएको थियो तर समयमा काम हुन नसकेपछि २०८२ साल साउन ३० गतेसम्म म्याद पुनः थप गरिएको थियो ।

दश करोड ३६ लाख ५७ हजार ८९१ रुपैयाँमा निर्मित शव दाह गृहमा भुई तलामा मलामी प्रतिक्षालय, पहिलो तलामा २ वटा विद्युतिय शव दाह मेसिन रहेका छन् । यस मेशिनबाट एउटा शव जलाउनका लागि करिब एक घण्टा लाग्ने सघन सहरी विकास आयोजनाका प्रमुख झपड बहादुर थापाले जानकारी दिनुभयो । एक वर्षसम्म मर्मत निर्माणको काम ठेकेदार पक्षले गर्नेछ ।

यसैबिच सघन सहरी विकास आयोजनाले मंगलपुर–फुलबारी सडक, सापकोटा चोक–पटिहानी, विशाल चोक– देविस्थान सडक, बाइपास–गोर्खाली चोक र काडाघारी गरी १८ दशमलव १२ किलोमिटर सडक कालोपत्रे गरी हस्तान्तरण गरेको छ ।