देउराली सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारण सभा सम्पन्न

गैंडाकोट, गैंडाकोट–३ ढोडेनीस्थित देउराली सामुदायिक वन उपभोक्ता समूहले बिहीबार २४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
गैंडाकोट–३ ढोडेनीमा आयोजित कार्यक्रममा डिभिजनल वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले देउराली सामुदायिक वनले वन संरक्षण र उपभोक्ताको हितका लागि प्रशंसनीय कार्य गर्दै आएको बताउनुभयो। उहाँले वन संरक्षणमा सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।
सामुदायिक वनका अध्यक्ष नरबहादुर मुख्मी मगरले वनले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँका अनुसार गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत दुई जना उपभोक्ताका घर निर्माण गरिएको, एक सय उपभोक्ता परिवारलाई स्वास्थ्य बीमा कार्ड उपलब्ध गराइएको तथा महिला सशक्तिकरणका लागि विभिन्न तालिमहरु सञ्चालन गरिएको छ। दैनिक ज्यालादारीमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै उपचार खर्चमा समेत सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा सचिव कल्पना गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कृष्णबहादुर विकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
गैंडाकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले देउराली सामुदायिक वन उत्कृष्ट उदाहरणको रूपमा स्थापित भएको बताउनुभयो। उहाँले वन संरक्षण र उपभोक्ता हितका कार्यक्रमले देउरालीलाई अन्य वनका लागि आदर्श वनको रूपमा उभ्याएको उल्लेख गर्नुभयो।
कार्यक्रममा सबडिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्र, विभिन्न सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला, स्थानीय समुदाय तथा विद्यालय प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा श्रीकृष्ण गण्डकी माध्यमिक विद्यालय का एसइइमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सुजन विकलाई १० हजार नगद सहित सम्मान गरिएको थियो। यस्तै पाँच जना उत्कृष्ट उपभोक्तालाई सम्मान गरिनुका साथै संस्थापक उपाध्यक्ष नरबहादुर कुँवर, संस्थापक सदस्य सीताराम ढकाल लगायतलाई पनि सम्मान प्रदान गरिएको व्यवस्थापक विजेस आलेले जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन निवर्तमान सहसचिव शम्भुप्रसाद तिवारीले गर्नुभएको थियो भने उपाध्यक्ष सुमित्रा मिश्रले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।