सम्राटहरुपनि एकदिन नाङ्गै हिँड्नुपर्दछ

अघिल्लो वर्ष छोरीले पढ्ने किताबमा समावेश भएको एउटा कथाको याद आयो । कथा The Emperor’s New Clothes शिर्षकमा थियो । यस कथाको सम्राट पात्र देउवा, ओली र प्रचण्डहरु जस्तो लाग्ने । मन्त्री पात्र उनैको जयजयकार गर्ने तल्लो तहका नेता जस्तो लाग्दछ । कथामा आउने प्रजाहरु दलका कार्यकर्ताजस्ता र जेन्जी यसै कथाको अन्तिममा उपस्थित हुने साना बच्चाहरु जस्तो महशुस हुन्छ । अहिलेको देशको अवस्था कसरी सिर्जना भयो ? छोरीले तीन कक्षामा पढेको कथाको सारलाई बुझौँ । अल्फा जेनेरेशनले पुस्तकमा पढेको कथाको सार ठ्याक्कै नेपालको वर्तमान अवस्था सिर्जना हुने प्रवृत्तिसँग मेल खान्छ ।
पहिला कथा बुझौं
धेरै वर्ष पहिले, एउटा सम्राट थिए । उनलाई नयाँ नयाँ लुगा लगाउन धेरै मन पर्दथ्यो । उनले आफ्ना सबै पैसाहरू नयाँ लुगामा खर्च गर्दथे । यति सम्मकी दिनको हरेक घण्टाका लागि नयाँ पोशाक किनेका हुन्थे । उनले घण्टौं समय लिएर लुगा लगाउँथे र ऐना हेरिरहन्थे । आफैले आफैलाई सुन्दर मानिरहन्थे ।
एक दिन, दुई ठगहरू महलमा आए । उनीहरूले भने, “महामहिम, हामी कुशल लुगा सिउने व्यक्ति हौं । हामी तपाईंका लागि अति सुन्दर लुगा बुन्न सक्छौं ।” उनिहरुले लुगाको विशेषता बताए “यो केवल बौद्धिक र बुद्धिमान व्यक्तिले मात्र देख्न सक्छन्, मूर्ख व्यक्तिले यो लुगा देख्न सक्दैनन।”
सम्राट धेरै उत्साहित भए । विद्वानले देख्ने र मुर्खले नदेख्ने लुगा सिउन सम्राटले अनुरोध गरे । उनले सोचे “त्यसपछि म देख्न सक्छु को विद्वान हो ? को मूर्ख हो ? किनभने मुर्खहरुले मेरो लुगा देख्न सक्दैनन्।”
उनले उनिहरूलाई सुनका थैली दिए र काम सुरु गर्न आदेश दिए । उनिहरूले चमात्कारी लुगा सिउने नाटक गरे र काम गरेको जस्तो देखाउन थाले, तर वास्तवमा त्यहाँ कुनै चमात्कारी लुगा थिएन । उनिहरुले राजालाई झुक्काएका मात्रै थिए ।
केही दिनपछि, सम्राटले आफ्नो इमानदार मन्त्रीलाई विद्वानले देख्ने मुर्खले नदेख्ने लुगा सिएको छ कि छैन बुझ्न पठाए । मन्त्री लुगा सिउने कहाँ पुगे । मन्त्रीले लुगा सिलाएर सक्नुभयो भनेर सोधे । उनिहरुले एउटा पोशाक देखाएर भने, हजुर तयार हुँदैछ । मन्त्रीले उनिहरुले भने जस्तो विशेष केही देखेनन् । तर मन्त्रीले साँचो भन्न डराए । किनकी मुर्खले नदेख्ने, विद्वानले देख्ने लुगा थियो । आफूलाई मुर्ख सोच्छन् भनेर कलात्मक लुगा रहेको प्रतिक्रिया दिए । उनले भने “कति सुन्दर” । उनले मुस्कुराउँदै भने “कति रंग मिलेको र कस्तो डिजाइन” उनी सम्राटको छेउ फर्किएर फेरी काल्पनिक लुगाको प्रशंसा गरे ।
सम्राटले दुई दिनमा शहरमा भव्य यात्रा गर्दा नयाँ पोशाक लगाउने निर्णय गरे ।
ठगहरूले राति पोशाक तयार भएको नाटक गरे । बिहान, उनीहरूले पोशाक तयार भएको सन्देश पठाए । मन्त्रीले पोशाक लिएर दरबार गए । सम्राटले लुगा लगाए । उनले ऐनामा हेरे र आश्चर्यचकित भए— उनले शरिरमा अन्डरवियर बाहेक केही देख्न सकेनन् । यो त अन्डरवियर मात्र छ भनेर राजाले मन्त्रीका अघि भन्न सकेनन्, किनकी राजा मुर्ख रैछन् भन्ने डर भयो, मन्त्रीहरुले पनि यथार्थ बताउन सकेनन््, किनकी उनिहरु मूर्ख देखिन चाहेनन । सम्राटले पोशाकको प्रशंसा गरे र ठगहरूलाई अर्को सुनको थैली दिए ।
राजा त्यही लुगा लगाएर शहरको यात्रा सुरु गरे । सबैले सम्राटका “नयाँ लुगा” देखेर प्रशंसा गरे । सम्राट अण्डरवेयरमा मात्र छन् भनेर कसैले पनि भन्न सकेनन । किनकी मुर्खले नदेख्ने र विद्वानले मात्र देख्ने लुगा सम्राटले लगाएर आएको शहरभरि पहिलै हल्ला फैलिएको थियो । सम्राटको अघि डरले पनि उनीहरूले केही भन्न चाहेनन् ।
अन्ततः त्यही भीडमा रहेको एउटा सानो बच्चाले चिच्यायो, “सम्राट हजुरले त लुगा लगाउनुभएकै छैन, एउटा कट्टुमात्र लगाउनुभएको छ ।” गाउँलेहरु डरले बच्चालाई चुप लाग्न भने । सम्राटको मन चसक्क भयो । अरुले झुट बोले पनि बच्चाले सत्य बोल्छन् भन्ने सम्राटको मनमा आयो । सम्राटले बल्ल आफू नाङ्गो भएको महशुस गरे । जतिबेला महशुस गरे त्यतिबेला हजारौँ मानिसले हेरिरहेका थिए । तर उनले थाहा नपाएको जसरी यात्रा जारी राखे, त्यति बेला पनि उनको शरिरमा लुगा थिएन ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७० जना भन्दा बढीले ज्यान गुमाए । सिंहदरबार जल्यो, सर्बोच्च जल्यो, संसद भवन जल्यो, देशभर सरकारी कार्यालयहरु जले, अदालतहरु जले, प्रहरी कार्यालय जल्यो, देश सहनै नसक्ने गरि जल्यो । कलिला मुनाहरुले ज्यान गुमाए । यो अवस्थाको सिर्जना हुनुमा राजनीतिक दलभित्रका सम्राटहरुको दोष छैनर ? सम्राटहरुको पूजा गर्दै हस हस भन्दै हिँड्ने कथाका मन्त्री जस्तै दोस्रो पुस्ताका नेताको के दोष छैन र ? आफ्नो दलका नेताले जे गरेपनि हुँइया गर्ने राजनीतिक दलका कार्यकर्ताको के दोष छैन र ? सच्चा बोल्ने ति साना बच्चाहरुलाई लुकाउन र दबाउन खोज्ने पुस्ताको दोष छैन र ? हामी सबैको दोष छ । अब पनि जनताको ताजा जनादेश लिन अघि बढेनौं भने, दक्षिण र उत्तरको षड्यन्त्र भन्दै एकअर्कालाई आरोप लगाउँदै बस्यौ भने ? जेनजी र अल्फाहरु परिवर्तनको सुनामी बनेर आउनेछन् । अहिले त खरानी त भेटिएको छ, त्यतिबेला धूलो पनि भेटिने छैन । समयमा सत्य सुनौँ, मनन गरौं र अघि बढौं ।
श्रीधर उपाध्याय
२०८२ असोज १ गते ।
राष्टिय शोक दिवस
निर्माणकर्ता विश्वकर्माको पूजन दिन