जेनजीको देशव्यापी आन्दोलन, राज्य निर्दयी बन्दा, कलिला मुना अस्ताए

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध सोमबार देशभर भएका जेन–जी युवाहरूको आन्दोलन हिंसात्मक बनेपछि ठूलो मानवीय क्षति भएको छ। सोमबार साझसम्म स्वास्थ्य मन्त्रालयका अनुसार आन्दोलनका क्रममा देशभर १९ जनाको मृत्यु, ४२२ घाइते भएका छन् ।
सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा संसद् भवनतर्फ प्रदर्शनकारी प्रवेश गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या बढेको बताइएको छ। प्रहरीको लाठीचार्ज, अश्रुग्यास र गोली प्रहारका कारण प्रदर्शनकारीहरू गम्भीर घाइते भएका छन्। चितवनमा भरतपुर महानगरपालिका कार्यालयभित्र तोडफोड गर्ने प्रयास भएपछि अश्रुग्यास प्रहार गरिएको थियो भने इटहरीमा उपमहानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्। त्यस्तै प्रधानमन्त्री ओलीको झापास्थित निवासमा समेत ढुंगामुढा भएको छ।
काठमाण्डौँ चितवन, पोखरा र झापा, इटहरीका बिभिन्न अस्पतालमा घाइतेहरू भर्ना गरिएका छन्।
आन्दोलनको समाचार संकलनमा खटिएका चार जना पत्रकारसमेत घाइते भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले आन्दोलनमा घाइते भएका सबै नागरिकलाई निःशुल्क उपचार गर्न संघीय अस्पतालहरूलाई निर्देशन दिएको छ। मन्त्री प्रदीप पौडेलको अग्रसरतामा एम्बुलेन्स सेवा र चिकित्सकहरूलाई सघन रूपमा परिचालन गरिएको छ।