तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै

दमौली । तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा एक वर्षमा ५९ हजार ७१ सर्वसाधारणले सेवा लिएका छन् ।
गत आर्थिक वर्षमा चिकित्सालयबाट २१ हजार १ सय ८३ महिला र ३७ हजार ८ सय ८८ पुरुषले आयुर्वेद सेवा लिएका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइँले जानकारी दिए । गत आव २०८०-८१ मा २० हजार र आव २०७९-८० मा १९ हजार २ सय १७ जनालाई सेवा प्रदान गरिएको थियो ।
कार्यालयले बिहान ६ बजेदेखि ११ बजेसम्म स्नेहन, श्वेदन, बस्ती कर्म, नस्य, जलनेती र शिरोधारा सेवा प्रदान गर्दै आएको छ । पछिल्ला केही वर्षयता जिल्लामा आयुर्वेद चिकित्साबाट गरिने उपचार पद्धतिमा सर्वसाधारणको विश्वास बढ्दै गएको चापागाइँले उल्लेख गए । उनका अनुसार केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षित गरी थेरापी गर्ने उपकरण पनि सञ्चालनमा आएको छ ।
गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी उपकरण खरिद गरेर सञ्चालनमा ल्याएपछि ढाड तथा हड्डीसम्बन्धी समस्या भएका बिरामी आउने क्रम बढेको उनले बताए । “हाडजोर्नी, नशा च्यापिएका बिरामीको आकर्षण आर्युर्वेदमा बढ्दै गएको छ”, उनले भने। कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरलगायत रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको कविराज निरीक्षक चापागाइँले जानकारी दिए । उनका अनुसार बिरामीको आवश्यकता र रोग अनुसारको दैनिक योग पनि सञ्चालन हुँदै आएको छ । आर्युर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि भएको चापागाइँको भनाइ छ ।
गत एक वर्षको अवधिमा बहिरङ्ग (ओपिडी)तर्फ १५ हजार ९ सय ३२, ज्येष्ठ नागरिक सेवातर्फ चार हजार २ सय २८, योगसेवातर्फ १४ हजार १ सय १९, पूर्वकर्म, पञ्चकर्म सेवातर्फ १६ हजार ३ सय ७६, स्तनपायी आमा तथा शिशु सेवातर्फ १ सय ८८, क्षारसुत्र सेवातर्फ ३३, प्रयोगशाला सेवातर्फ दुई हजार ३ सय ४०, फिजियो थेरापीतर्फ पाँच हजार ६ सय २१ र बाँकीले शिरोधारातर्फको सेवा लिएका उनले जानकारी दिए ।
चिकित्सालयले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै जिल्लाका स्थानीय तह, सरोकार भएका निकायलगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक पचार प्रणालीको प्रवर्द्धन गरिरहेको चापागाइँले उल्लेख गरे। उनका अनुसार कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक कविराज, दुई वैद्य, एक सहलेखापाल र दुई कार्यालय सहयोगी कार्यरत छन् ।
“बिरामीको नाम दर्ताका लागि रु १० शुल्क निर्धारण गरिएको छ । बिरामी परीक्षण, औषधि वितरण, प्राथमिक उपचार सेवा निःशुल्क छ । पञ्चकर्म तथा पूर्वकर्म सेवाका लागि रु १५० निर्धारण गरिएको छ भने ज्येष्ठ नागरिकका लागि रसायन औषधि वितरण, स्तनपायी आमाका लागि दुग्धवर्द्धक औषधि वितरण, योग सेवा निःशुल्क गरिएको छ”, चापागाइँले भने । उनका अनुसार क्षारसुत्र सेवाका लागि शल्य चिकित्सा सेवातर्फ रु पाँच हजार निर्धारण गरिएको छ । रासस