गैँडाकोटमा ३१औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विशेष कार्यक्रम गरी मनाइयो

२०८२ श्रावण २४ शनिबार १८:१३:०० मा प्रकाशित

गैँडाकोट । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैडाकोट नगरपालिकाले ३१औ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम गरेको छ। गैंडाकोटमा रहेको फ्यामिली क्याफेमा विशेष कार्यक्रमसँगै शुभकामना आदानप्रदान गरिएको छ ।


कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शुभकामना व्यक्त गर्दै नगरपालिकाको तर्फबाट सक्दो प्रयास गर्ने र सहयोग गर्ने बताउनुभएको छ । जनजाति महासङ्घको सांस्कृतिक र ऐतिहासिक भवन निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र नगरपालिकाले केन्द्र र प्रदेशसँगको सहयोग र समन्वयका लागि पनि काम गर्ने बताउनुभएको छ। आदिवासी जनजातिको कला धर्म संस्कृति संरक्षणका लागि बन्न लागेको आदिवासी जनजातिको संग्रहालय निर्माणका लागि नगरपालिकाको तर्फबाट सहयोग सँगसँगै समन्वय पनि हुने बताउनुभएको हो। यो नगरपालिकाकै गहना भएकाले यो निर्माण गर्नु आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ । 

 

गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले कार्यक्रममा बोल्दै कला संस्कृति भेषभुषालाई आदिवासी नजातिहरूले जोगाइराखेको र देशलाई सुन्दर बनाएर बसेको बताउनुभएको छ। उहाँले सयौं थुङ्गा फूलका एउटै माला नेपाली विभिन्न जातजाति भाषाभाषी संस्कार र संस्कृतिसँगै रमाएर बसेको बताउनुभयो। सबैको आफ्नै मूल्य परम्परा र संस्कृति भएकाले यसलाई जगेर्ना गर्दै र पछिल्लो पुस्तामा पुस्तान्तरण गर्दै अगाडि बढ्न पनि आवश्यक रहेको उहाँले बताउनुभएको छ। उहाँले कला संस्कृतिको रक्षा गर्न सके देशको गौरवको पनि रक्षा हुने बताउनुभयो । यसका लागि स्थानीय सरकारकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ।


यस्तै, कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले यहाँको कला संस्कृति भेषभुषालाई गैंडाकोट नगरपालिकाको चिनारीका रूपमा अगाडि बढाउन खोजेको बताउनुभएको छ।  रहनसहन र संस्कृतिलाई प्रवर्तन गर्ने कुरामा सदैव अगाडि रहेको पनि उहाँले बताउनुभएको छ।


नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैंडाकोट नगरपालिकाका अध्यक्ष नरबहादुर थापा मगर नरेशले जनजाति आदिवासीको सङ्ग्राहालय नगरकै सम्मान र सम्पत्ति भएकाले यसको निर्माणमा सबै पक्षले चासो दिनपर्ने आवश्यकता रहेको बताउनुभयो । सबैको आफ्नो अपनत्व हुने गरेर काम गर्न आवश्यक रहेको बताउँदै उहाँले स्थानीय सरकारले पनि यो विषयमा सोचेर सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ। साथै उहाँले नगरपालिकाका नगरप्रमुख र प्रशासकीय अधिकृतले प्रतिबद्धता जनाउनुभएको हुनाले पनि काम समयमै हुने आशा पलाएको बताउनुभयो। सङ्ग्रालयलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गराउन सबैले हातेमालो गरेर अगाडि बढ्न पनि आवश्यक रहेको बताउनुभयो।


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सल्लाहकार संयोजक गजेन्द्रबहादुर आले, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका सल्लाहकार अमृत भट्टचन, गैंडाकोट वडा नम्बर १४ का वडा अध्यक्ष कोकीसरा रानामगर, कार्यपालिका सदस्य शान्ता घर्ती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।  


कार्यक्रम सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैडाकोटका सचिव धनबहादुर कुमालले गर्नुभएको थियो।