रविले दिए थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन

२०८२ श्रावण २२ बिहीबार १४:५८:०० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका लामिछानेले थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका हुन् ।

आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।

लामिछानेको सचिवालयले १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा  बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै थाहा पाएको बताए । लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् ।