चितवनमा गत वर्ष १ सय २७ जनाले त्यागे नेपाली नागरिकता

चितवन । गत आर्थिक वर्ष २०८१÷०८२ मा चितवनका ३३ महिला र ९४ पुरूष गरी १ सय २७ जनाले नागरिकता त्यागेका छन्।
विदेश गएका नागरिकले उतैको स्थायी आवासीय अनुमतिपत्र लिने भएपछि नेपाली नागरिकता त्याग्ने गरेका हुन् । त्यस्तै, १० जनाको नागरिकता रद्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले फर्जी विवरण दिएर नागरिकता लिएका र दुईवटा नागरिकता लिएका व्यक्तिको नागरिकता रद्द गरिएको बताउनुभएको छ ।
त्यस्तै, गत आवमा जिल्ला प्रशासन कार्यालय चितवनबाट १ सय ६८ जनाले गैरआवासीय नागरिकता लिएका छन् । यसबाहेक, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय माडीबाट वंशज र वैवाहिक अधिकृत गरी ११ हजार ९ सय २४ जनाले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार १० हजार ८ सय ५६ जनाले वंशजका आधारमा र ३१ जना महिलाले अधिकृत नागरिकता लिएका हुन् । त्यस्तै, १५ हजार ७ सय ११ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
इलाका प्रशासनका अनुसार एक हजार ३१ जनाले वंशजका आधारमा र छ जना महिलाले वैवाहिक अधिकृत नागरिकता लिएका हुन् । इलाका प्रशासनबाट एक हजार ६ सय ३३ जनाले नागरिकताको प्रतिलिपि लिएको पाइएको छ । जिल्ला प्रशासनबाट गत आवमा २७ हजार ९ सय ७ वटा राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । राहदानी दस्तुरबाट प्रशासनले १४ करोड ८९ लाख ६२ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको छ भने एक लाख ६१ हजार २ सय ६४ वटा राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।