४३ औं वि.पी. स्मृति दिवसको अवसरमा गैडाकोटमा रक्तदान

गैंडाकोट । ४३ औं वि.पी. स्मृति दिवसको अवसरमा गैडाकोटमा गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ र क्षेत्रीय कार्य समिति क्षेत्र नं १ को आयोजनामा मंगलवार गैंडाकोटको भृकुटि चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वि.पी. कोईरालाको विचार र दर्शन अहिले पनि नेपाली लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभयो । नगरप्रमुख अधिकारीले समाज सेवामा लाग्न युवाहरूलाई प्रेरणा मिलोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको महत्व रहेको बताउनुभयो।
नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति अमृत भट्टचनले वि.पी. कोईरालाको योगदानको सम्झना गर्दै पार्टीले राजनीतिक दृष्टिकोणसँगै सामाजिक सेवामा समेत क्रियाशीलता बढाउनु आवश्यक रहेको बताउनु भयो । सभापति भट्टचनले भन्नुभयो ।“रक्तदान जस्तो मानवीय कार्यमार्फत जनताको जीवन र स्वास्थ्यप्रति पनि हाम्रो उत्तरदायित्व रहेकोले रक्तदान गरेका हौ ।”
४८ औं पटक रक्तदान दिनुभएका पत्रकार सुजन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुरु गरिएकोे थियो । नवलपुर रक्तसञ्चार सेवा कावासोती तथा नेपाल रेडक्रस कावासोती उपशाखाले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेससँग आबद्ध केन्द्रीय, क्षेत्रीय तथा नगरपालिका तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
नवलपुर क्षेत्र नम्बर १का क्षेत्रीय सचिव अमृत श्रेष्ठ कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।