नवलपुरमा एक वर्षमा ११० सवारी दुर्घटना, ४२ जनाको मृत्यु

गैडाकोट । नवलपुरमा पछिल्लो एक वर्षको अवधिमा सवारी दुर्घटनाको सङ्ख्मा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभित्र ११० सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ४२ जनाको ज्यान गएको छ भने ६९ जना गम्भीर घाइते र ८८ जना सामान्य घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज वन्जाराका अनुसार मृतकमध्ये ३३ जना पुरुष, ७ जना महिला र २ जना बालक रहेका छन्। घाइते हुनेमध्ये ३७ जना पुरुष, २१ जना महिला, ८ जना बालक र ३ जना बालिका रहेका छन्। दुर्घटनामा परेका सवारी साधनमध्ये सबैभन्दा धेरै दुई पाङ्गे सवारी साधन रहेका छन् ।
प्रहरी निरीक्षक वन्जाराका अनुसार, १४ वटा बस र मिनीबस, १८ ओटा ट्रक तथा टिप्पर, १६ ओटा चार पाङ्ग्रे सवारी साधन, ९ ओटा तीन पाङ्ग्रे सवारी साधन, ११ ओटा ट्र्याक्टर र ११२ ओटा दुई पाङ्गे्र सवारी साधन दुर्घटनामा परेका थिए। यसअघि, आर्थिक वर्ष २०७९/८० मा ७६ दुर्घटनामा २९ जनाको मृत्यु र १०५ जना गम्भीर घाइते भएका थिए। त्यसैगरी, २०८०/८१ मा १३५ सवारी दुर्घटनामा ४६ जनाको मृत्यु र ७९ जना गम्भीर घाइते भएका थिए। यी तथ्याङ्कको तुलनामा चालु वर्षमा दुर्घटनाको संख्या २५ ले घटेको हो।
सडक सुरक्षासम्बन्धी जनचेतना कार्यक्रमको निरन्तरता, सवारी चेकजाँचमा कडाइ, दैनिक ट्राफिक गस्ती र सचेतना, ग्रामीण तथा पहाडी भेगमा विशेष अभियान सञ्चालनले गदा २०८१/८२ मा दुर्घटनामा कमी आएको प्रहरी निरीक्षक वन्जाराको भनाई छ ।
प्रहरी निरीक्षक वन्जाराका अनुसार दुर्घटना शनिबार र शुक्रबार बढी हुने गरेकोे छ भने बुधबार कम भएको पाइएको छ । भित्री सडकखण्डमा बढी हुने मोटरसाइकल दुर्घटनाको कारण तीव्र गति, क्षमताभन्दा बढी भार र चालकको लापरवाही रहेको छ। साँझ ६ बजेदेखि १२ बजेसम्म दुर्घटनाको सम्भावना बढी हुने पाइएको प्रहरीको भनाइ छ ।
दुर्घटना न्यूनीकरणका लागि यस वर्ष पनि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । विशेषगरी ग्रामीण, पहाडी तथा भित्री कच्ची क्षेत्रहरूमा बढी क्षति हुने भएकाले ती सडक क्षेत्रमा चेतनामूलक अभियान सञ्चालन गर्ने र सवारी चेकजाँचमा कडाइ गरिने प्रहरी निरीक्षक वन्जाराले विजय एफ एम लाई जानकारी दिनुभएकाे छ ।