बीपी राजमार्गमा आजदेखि एक महिनासम्म रातिमा गाडी चलाउन रोक

२०८२ श्रावण १ बिहीबार १२:१५:०० मा प्रकाशित

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक खण्डमा आज साउन १ गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा)  सवारी साधन चलाउन रोक लगाइएको हो । असार ३१ गते बसेको सुरक्षा समिति बैठकले मनसुन सक्रिय रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै एक महिनासम्म रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो ।

त्यसअघि यही असार ६ गते काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो । काभ्रेपलान्चोकका  प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलान्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताए । गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौं यातायातका साधान आउजाउ गर्छन् ।

बाढीपहिरोले राजमार्गको कूल १६० किलोमिटरमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियासमेत अघि बढाइरहेको जनाएको छ ।