“धार्मिक आदर्श लीलाधर रिजाल” स्मृति ग्रन्थको विमोचन

२०८२ असार ३२ बुधबार २१:४८:०० मा प्रकाशित

नवलपरासी पूर्व । “धार्मिक आदर्श लीलाधर रिजाल” स्मृति ग्रन्थको बुधबार विमोचन गरिएको छ । गैँडाकोट ८ का सामाजिक तथा धार्मिक व्यक्ति स्वर्गीय लीलाधर रिजालको स्मृति ग्रन्थ संस्कृतका ज्ञाता गुरु फणीनारायण सिग्देल र गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीबाट बुधबार विमोचन गरिएको हो ।

यस ग्रन्थमा स्व. रिजालकाबारेमा ७० भन्दा बढि व्यक्तिका अनुभवहरू संकलन गरिएको छ । रिजाल परिवारले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको समापनका दिन स्व. रिजालको स्मृती ग्रन्थ विमोचन कार्यक्रममा गुरु फणीनारायण सिग्देल र श्रीमद्भागवद् कथा वाचक रविन चापागाईंले रिजालको असल कर्मका बारेमा बताउनुभएको थियो । उहाँले उपस्थित सबैलाई आफ्नो सन्तानलाई असल आचारण र असल धर्म धारण गर्न लगाएर मानव बनाउन आग्रह गर्नुभएको छ ।

यस्तै गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले स्व. रिजालको जीवनबाट कर्मशील बन्न प्रेरणा मिल्ने बताउनुभयो । शैक्षिक व्यक्ति चूडामणि शर्माले पुस्तकको समिक्षा र पत्रकार एवं सम्पादक सूर्यप्रकाश कंडेलले पुस्तकको महत्त्व माथि प्रकाश पार्नुभएको थियो । स्मृती गन्थ प्रकाशन तथा विमोचन कार्यक्रमका संयोजक नगेन्द्रप्रसाद रिजालले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने अतिथिहरुलाई परिवारका सदस्य विमल रिजालले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम परिवारका सदस्य कलाधर रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । स्मृति ग्रन्थ विमोचन कार्यक्रमको सहजीकरण विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले गर्नुभएको थियो ।