श्रद्धायात्रा स्मरण : गंगासागरदेखि पुरीसम्मको आध्यात्मिक यात्रा वृत्तान्त

धार्मिक यात्राको नाम लिनासाथ नै हृदयमा एक अनौठो उत्साहको सञ्चार हुन्छ । त्यसमाथि आफ्ना आत्मीयजनहरू, साथीभाइ, छरछिमेक, सुख–दुखका सहयात्री, अनि नजिकका आफन्तहरू सँगै हुने भयो भने त्यो उत्साह एक अविस्मरणीय रोमाञ्चमा रुपान्तरण हुन्छ । यही भावना बोकेर हामी २२ जना मिलेर एक साझा ध्येयसहित धार्मिक यात्राको योजनामा जुट्यौं । कोही आफ्ना व्यापारबाट, कोही जागिरको व्यस्तताबाट, त कोही व्यक्तिगत जिम्मेवारीहरू केही समयका लागि थाँती राख्दै, अध्यात्मको बाटो समाउने संकल्पमा उभिएका थियौं । मनमा श्रद्धा, मुटुमा उमङ्ग, र अनुहारमा आध्यात्मिक झल्को लिएर हामीले यात्राको पहिलो पाइला चालेका थियौं । जहाँ गन्तव्यभन्दा पनि यात्राको सामूहिक भाव र आन्तरिक अनुभूति महत्वपूर्ण ठहरिन थालेको थियो । असारको महिना थियो न त पूर्ण गर्मीको घाम, न त झनझनिएको बर्सात तर दुवैको आशंका मनमा घुलमिल भएर बसेका थिए । मौसमका ती सम्भावित अवरोधहरू हाम्रो योजना अघि बढाउने आत्मविश्वासको अगाडि फिक्का लाग्थे । हामी २२ जना सबै आफन्त र आत्मीयजन एकैसाथ लामो धार्मिक यात्रामा निस्कँदै थियौं, जसले हाम्रो सम्बन्धलाई झनै प्रगाढ बनाउने थियो । धेरैका लागि यो पहिलो पटक यति टाढाको तीर्थयात्रा थियो । कसैको मनमा नयाँ ठाउँको कौतुहलता, कसैको मनमा पूजाको श्रद्धा, त कसैको मनमा लामो बाटोको हल्का जिज्ञासा थियो । तर सबैलाई बाँध्ने डोरी एउटै थियो आस्थाको त्यो अदृश्य शक्ति, जसले हामीलाई यात्राको प्रत्येक पाइला अर्थपूर्ण बनाउने थियो । नयाँ अनुभव, नयाँ परिवेश, र गहिरा आन्तरिक भावनाहरूको संगालो बोकेर हामी श्रद्धा र उत्साहको पुल पार गर्दै यात्राको प्रारम्भ बिन्दुतर्फ अघि बढ्न तयार भयौं ।
यस आध्यात्मिक यात्रामा सहभागी हुनुहुनेहरू सबैजना मेरो जीवनका आत्मीय पात्रहरू हुनुहुन्थ्यो । आमा भुमा सुबेदी, म स्वयं र मेरी धर्मपत्नी चन्द्रा सुबेदी, दिदी सुसीला आचार्य, मामा–माइजु खगराज शर्मा र हरिकला देवी शर्मा, छिमेकी दिदी गायत्री घिमीरे र उहाँकी दिदीहरू—गौरी देवी अधिकारी, सिता अधिकारी, जमुना शर्मा पौडेल, लक्ष्मी भट्टराई हाम्रो समूहको महत्वपूर्ण अङ्ग बन्नुभयो । त्यस्तै आत्मीय मित्रहरू दाजु–भाउजूहरू सालिकराम–शान्ति सापकोटा, केशव–सरिता तिवारी, तारानाथ–गिता लामिछाने, लिलाधर–शान्ति गिरी, साथै सरस्वती आचार्य, सरस्वती भट्टराई र नारायण सापकोटा जस्ता सहयात्रीहरूले यात्रालाई अझ ऐक्यबद्ध, ऊर्जावान र समर्पित बनाउनु भयो ।
यस अघि प्रकाशित लेखमा हाम्रो यात्राको समग्र विवरण प्रस्तुत गरिसकिएको छ । अब यो लेखमार्फत हामीले यात्रा क्रममा अवलोकन गरेका विविध धार्मिक र सांस्कृतिक महत्वका मन्दिरहरूको वर्णन प्रस्तुत गर्दैछौं, जुन स्थलहरू न केवल दर्शनका केन्द्र थिए, तर आत्मिक अनुभवका स्रोत पनि बने ।
पञ्चमुखी हनुमान मन्दिर – आस्था, शक्ति र सुरक्षाको पवित्र प्रतीक
उडिसा राज्यको राजधानी भुवनेश्वरमा अवस्थित पञ्चमुखी हनुमान मन्दिर एउटा विशिष्ट धार्मिक स्थल हो, जहाँ भगवान हनुमान पाँच रूपहरूमा अवतरित भई भक्तजनहरूलाई आश्रय दिनुहुन्छ । पञ्चमुखी हनुमान अर्थात् पाँचमुखे हनुमान—शक्तिशाली, सर्वरक्षक र सर्वज्ञ स्वरूपमा पूजित हुनुहुन्छ । शास्त्रीय मान्यताअनुसार पञ्चमुखी हनुमानका यी पाँच अनुहारहरू विभिन्न दिशाहरू तथा शक्तिहरूका प्रतीक हुन्:
– पूर्वमुखी हनुमान: मूल मुख, जो वीरता, सौर्य र भक्ति भावनाको प्रतिनिधित्व गर्दछ ।
– दक्षिणमुखी नरसिंह: भयको नाश गर्ने रूप, जसले शत्रु तथा आतङ्कबाट मुक्ति दिलाउँछ ।
– पश्चिममुखी गरुड: नाग, सर्प र विषका नाशक, शुद्धताको प्रतीक ।
– उत्तरमुखी वराह: पृथ्वीको रक्षक, स्थिरता र धैर्यताको संवाहक ।
– ऊर्ध्वमुखी हयग्रीव: विद्या, बुद्धि र ज्ञानको स्रोत रूपी देवता ।
यी पाँचवटा मुखले हनुमानलाई एक बहुआयामी शक्ति सम्पन्न देवताका रूपमा उजागर गर्छन् । यो रूप विशेषतः तन्त्र साधना, रक्षा मन्त्र र विशेष हनुमान उपासनामा प्रयोग गरिन्छ । मन्दिर परिसरमा स्थापित भगवानको विशाल मूर्ति, जुन प्रायः रातो सिन्दुरले लेपिएको हुन्छ, भक्तिमा डुबेका अनुहारहरू र आरतीका गुञ्जनले भरिएको वातावरणले यात्रुहरूको मन छुन जान्दछ । प्रत्येक मंगलवार र शनिबार यहाँ विशेष पूजा–अर्चना, हनुमान चालीसा पाठ र आरती गरिन्छ । धार्मिक विश्वास अनुसार, यहाँ सच्चा मनले पूजा गर्दा शत्रु बाधा, भूत–प्रेत, असुर प्रभाव, डर र संकटहरू हट्छन् भन्ने मान्यता छ । विशेषगरी विद्यार्थी, सुरक्षाकर्मी, तथा मानसिक अशान्तिमा रहेका भक्तहरूले यहाँ विशेष श्रद्धा राख्ने गरेको देखिन्छ । हामीले पनि यस मन्दिरको दर्शन गर्ने अवसर पायौं । त्यहाँको शान्त, श्रद्धामय वातावरण, अनुशासित पूजापद्धति र भक्तहरूको समर्पणले हाम्रो मनमा गहिरो प्रभाव पारेको थियो । यो मन्दिर साँच्चै आत्मिक बल, श्रद्धा र सुरक्षाको खोजीमा निस्किएका प्रत्येक भक्तजनका लागि एक आदर्श तीर्थस्थल हो रहेछ ।
कोणार्क सूर्य मन्दिर – ज्योति, ज्यामिति र श्रद्धाको संगम
उडिसाको कोणार्कमा अवस्थित सूर्य मन्दिर, जसलाई "ब्ल्याक पगोडा" वा Surya Deula नामले पनि चिनिन्छ, भारतको एक अनुपम सांस्कृतिक धरोहर हो। यो मन्दिर कुनै साधारण धार्मिक स्थल होइन । यो एउटा वास्तुशिल्पीय महाकाव्य हो, जसलाई १३औं शताब्दीमा राजा नरसिंहदेव प्रथमले सूर्यदेवको आराधनाका निम्ति निर्माण गर्नुभयो। सन् १२५० तिर, करिब १२ वर्षसम्म चलेको निर्माण कार्यले यसलाई पूर्णता दिएको मानिन्छ। यो मन्दिरको संकल्पना स्वयं सूर्यको रथबाट प्रेरित छ, जहाँ २४ वटा विशाल पाङ्ग्रा र सात घोडाहरूले तानेको रथका रूपमा सम्पूर्ण मन्दिर संरचना डिजाइन गरिएको छ। प्रत्येक पाङ्ग्रामा आठवटा आभामण्डल (रे) कुँदिएका छन्, जुन दिनको आठ प्रहर र समयको चक्रको प्रतीक हो। यो न केवल धार्मिक उपासना स्थल हो, तर खगोल, गणित र समय–ज्ञानको समेत जीवित प्रमाण हो। मन्दिर पूर्व–पश्चिम अक्षमा निर्माण गरिएको छ, जसले सूर्यको पहिलो किरणलाई मन्दिरको प्रवेशद्वारमा ठ्याक्कै पर्याउने व्यवस्था मिलाएको छ। पाङ्ग्राहरू छायाँघडी (सन्डायल) को रूपमा पनि कार्य गर्छन्, जुन समयको मापनमा प्रयोग हुन्थ्यो भन्ने विश्वास गरिन्छ। मन्दिरभित्र र वरिपरिका ढुंगाहरूमा कुँदिएका मूर्तिहरू, नटी–नर्तक, मिथुन मुद्रा, देवी–देवता, दैनिक जीवनका दृश्य, तान्त्रिक र शक्ति साधनाहरूले सम्पूर्ण जीवन दर्शनलाई मूर्त रूपमा प्रकट गर्छन्। यी कलाकृतिहरू केवल सौन्दर्यका लागि होइनन्, तिनीहरू जीवन र आध्यात्मिकताको एकाइ हुन्। अझ अचम्मको कुरा त "म्यूजिक पिलर" भनिने केही स्तम्भहरूबाट संगीतिक ध्वनि आउने बताइन्छ—जसले उचाइमा रहेको ज्ञानको संकेत गर्छ।
कोणार्क सूर्य मन्दिरको एक अर्को रोचक पाटो लौह चुम्बक (magnetism) सम्बन्धी कथन हो—जहाँ मन्दिरको शीर्ष भागमा रहेको चुम्बकले जहाजका कम्पासलाई विचलित पार्ने बताइन्छ, जुन समुद्री मार्गदर्शनको लागि समस्या बन्न सक्थ्यो भन्ने भनाइ प्रचलित छ। यस अद्भुत मन्दिरलाई सन् १९८४ मा UNESCO द्वारा विश्व सम्पदा सूची (World Heritage Site) मा सूचीकृत गरिएको छ। आजसम्म पनि यसको संरक्षण र प्रचारमा भारत सरकार सक्रिय छ। हरेक वर्ष डिसेम्बर १ देखि ५ सम्म आयोजना हुने कोणार्क डान्स फेस्टिवल यहाँको अर्को विशेष सांस्कृतिक पहल हो, जसमा भारतका प्रमुख शास्त्रीय नृत्यहरू, संगीत र स्यान्ड–आर्ट प्रदर्शनी समावेश हुन्छन्। मन्दिर नजिकै रहेको चन्द्रभागा समुद्रकिनार पनि एक आस्था र शुद्धताको प्रतीक स्थल हो, जहाँ विशेषगरी माघ पूर्णिमाको दिन सयौं श्रद्धालु स्नान गर्न पुग्ने गर्छन्। पुरीबाट करिब ३४ कि.मि. र भुवनेश्वरबाट ६७ कि.मि. टाढा रहेको यो मन्दिर बिहान ६ बजे देखि साँझ ८ बजेसम्म खुला रहन्छ, जसले दर्शनार्थी र पर्यटक दुवैलाई सहज बनाएको छ।
हाम्रो यात्राको क्रममा कोणार्क सूर्य मन्दिरको भव्यता, वैज्ञानिक गहिराइ, कलात्मक समृद्धि र श्रद्धाको अद्वितीय समिश्रणले हामीलाई अभिभूत तुल्यायो। यो स्थल केवल ऐतिहासिक गन्तव्य होइन, आत्म–अनुभूति, शाश्वत प्रेरणा र सांस्कृतिक गौरवको उज्यालो केन्द्र रहेछ।
लिंगराज महादेव मन्दिर – शैव–वैष्णव एकताको अद्वितीय धरोहर
भुवनेश्वर—'मन्दिरहरूको नगरी' का रूपमा परिचित, त्यसको मध्यभागमा अवस्थित छ एक अद्वितीय शक्तिस्थल लिंगराज महादेव मन्दिर। यो मन्दिर केवल शिवको आराधनास्थल मात्र होइन, यो शैव–वैष्णव सम्प्रदायको एकता, कलात्मक वास्तुकला, र आध्यात्मिक महिमाको समुन्नत प्रतीक हो। १०औं–११औं शताब्दीको आसपास, सोमवंशी राजवंशका राजा ययाति केशरीद्वारा आरम्भ गरिएको यो मन्दिर निर्माण कार्य उत्तराधिकारमा आउने अन्य राजाहरूको प्रयासबाट सम्पन्न भएको मानिन्छ। बुद्धशिला अर्थात स्वयम्भू लिङ्ग अवस्थित स्थानमै यस मन्दिरको निर्माण गरिएको विश्वास गरिन्छ, जसले यहाँ शिवको स्थायी उपस्थिति को अनुभूति दिन्छ।
मन्दिरको सम्पूर्ण वास्तु कलिङ्ग शैली (ड्यूल शैली) मा आधारित छ। मुख्य संरचनामा चार प्रमुख भागहरू छन्, विमान (गर्भगृह): जहाँ ५५ मिटर (करिब १८० फिट) अग्लो शिखरले आकाश चुमिरहेको छ, – जगमोहन (सभामण्डप),–नाट्यमन्दिर (नृत्य मंच), भोगमण्डप (आहार ग्रहणस्थल)। यी संरचनाहरू चतुर्दिशमा फैलिएका करिब १३०–१५० सहायक मन्दिरहरूले घेरेका छन्, जसले सम्पूर्ण परिसरलाई एक धार्मिक नगरी जस्तै बनाएको छ। मन्दिरको बाहिरी भित्तामा सुक्ष्मता र कलात्मकताले भरिएका मूर्तिहरू देवी–देवता, नटी–नर्तकी, मिथुन मुद्रा आदिका चित्रण प्राचीन भारतीय जीवनशैली र आध्यात्मिक अभ्यासको प्रतिबिम्ब हुन्। विशेष कुरा यो हो कि लिंगराज मन्दिरमा भगवान हरिहरा अर्थात हरि (विष्णु) र हरा (शिव) को समन्वयात्मक रूप पूजा गरिन्छ, जसले वैष्णव र शैव परम्परालाई एउटै मूलधारमा मिसाएको अनुपम दृष्टान्त प्रस्तुत गर्दछ। यहाँको मुख्य लिङ्ग स्वयम्भू मानिन्छ, जसको व्यास करिब ८ फिट रहेको बताइन्छ। धार्मिक रूपमा यो मन्दिर विशेषतया महाशिवरात्रि र अशोका अष्टमी (रुकुना रथयात्रा) का अवसरमा हजारौं भक्तजनको श्रद्धा केन्द्र बन्छ। त्यसबाहेक, नजिकैको बिन्दु सागर ताल—मन्दिरको उत्तरतर्फ रहेको एक पवित्र जलाशय जहाँ स्नान गरेर भक्तहरूले पूजाको प्रारम्भ गर्छन्, यात्राको अर्को पवित्र पाटो हो। मन्दिर परिसर नजिकै रहेको एकाम्रवन—एउटा ऐतिहासिक उपवन, जुन प्राचीन ग्रन्थहरूमा 'एकम्र क्षेत्र' को रूपमा उल्लेख गरिएको छ—शिव–शक्ति उपासनाको एउटा मौन साक्षीजस्तो देखिन्छ। यस क्षेत्रमा अन्य थुप्रै पुरातात्विक र धार्मिक मन्दिरहरू जस्तै मुक्तेश्वर, राजरानी, ब्रह्मेश्वर, पारशुरामेश्वर आदि पनि रहेका छन्, जसले सम्पूर्ण क्षेत्रलाई एक खुला सङ्ग्रहालयजस्तै अनुभूति गराउँछ। हाम्रो यात्राको क्रममा लिंगराज मन्दिरको दर्शन, त्यहाँको अनुपम शान्तता, गहिरो श्रद्धा र ऐतिहासिक वैभवले हाम्रो अन्तरमनलाई छुने काम गर्यो। यो केवल दर्शनको स्थल नभई, जीवन, परम्परा र एकताको चिरस्थायी प्रतिक बनेको रहेछ।
साक्षीगोपाल मन्दिर – न्यायका लागि साक्षी बनेका श्रीकृष्ण
भुवनेश्वर–पुरी राजमार्गको मार्गमा अवस्थित साक्षीगोपाल मन्दिर भगवान श्रीकृष्णको चरण चिन्ह अँगाल्ने एउटा अनौठो वैष्णव तीर्थस्थल हो, जहाँ "गोपाल" केवल आराध्य देव मात्र होइन, न्यायका साक्षी पनि हुन् ।
यस मन्दिरको मूल आत्मा एउटा अद्भुत पौराणिक कथामा निहित छ युवक ब्राह्मणको सत्यको लडाइँमा, स्वयं गोपाल साक्षी बन्नु भएको प्रसंग। कथाअनुसार, एक विपत्तिमा परेका ब्राह्मण युवाले जब अन्यायको विरुद्ध आवाज उठाए, तब श्रीकृष्ण आफैँ पृथ्वीमा गवाह भएर आउनुभयो। युवकलाई विश्वास थियो "म अगाडि हिँड्नेछु, मेरो पछि–पछि गोपाल आउनुहुनेछ।" तर कुनै बेला कृष्णका चरण ध्वनि नआएपछि जब उनले फर्किएर हेरे, गोपाल त्यहीँ मूर्तिमा रूपान्तरित भइ अडिग उभिनुभएको दृश्य देखे। त्यही स्थानमा गोपालको साक्षी मूर्ति स्थापना भई, मन्दिर निर्मित भयो जहाँ न्यायका देवताका रूपमा श्रीकृष्णको पूजा गरिन्छ। यो कथा केवल धार्मिक आख्यान मात्र होइन, यो सत्यको पक्षमा ईश्वर पनि उभिन सक्छन् भन्ने आस्थाको बलियो स्तम्भ हो। ११औँ शताब्दीमा निर्माण भएको यस मन्दिरको वास्तुकला कलिङ्ग शैलीमा आधारित छ, जसले पूरि स्थित जगन्नाथ मन्दिरसँग मिल्दोजुल्दो स्वरूप दिन्छ। गर्भगृहमा अवस्थित गोपाल–राधा मूर्ति अत्यन्त मनोहारी छन् जहाँ दायाँपट्टि करिब ५ फिट अग्ला श्रीकृष्ण र बायाँ राधा (४ फिट) को मूर्ति सँगै राखिएको छ। पाषाण र काठको संयोगले बनाइएको मूर्तिकला कलात्मक सौन्दर्यको प्रतिमूर्ति हो। विशेष पर्वहरूमध्ये आँवला नवमी अत्यन्त श्रद्धासाथ मनाइन्छ—यस दिन राधा पात्र धरामा चरणस्पर्श गर्न पाउने विशेष अवसर रहन्छ, जुन प्रायः अन्य मन्दिरहरूमा पाइँदैन। त्यसका अतिरिक्त पूर्णिमा, चन्दन यात्रा, कार्तिक पूर्णिमा, र कृष्ण जन्माष्टमीजस्ता पर्वहरूले मन्दिरलाई जीवन्त र भक्तिपूर्ण बनाउँछन्। साक्षीगोपाल मन्दिरको अर्को विशेष पक्ष भनेको यहाँ चढाइने 'गहुँको प्रसाद' हो जबकि अधिकांश विष्णु मन्दिरहरूमा चामलयुक्त प्रसाद चलनमा छ, यहाँ गहुँको प्रयोगले अद्वितीयता थपेको छ।
यो मन्दिर केवल पूजा गर्ने स्थल होइन, यो न्याय, विश्वास र व्यक्तिगत भक्ति भावनाको मूर्त स्वरूप हो । साक्षीगोपाल मन्दिरमा पुग्दा त्यो पौराणिक कथा केवल सुन्नु मात्र होइन, त्यो अनुभव गर्न मिल्ने अनुभूति हुन्छ जहाँ विश्वासले देवतालाई पृथ्वीमा ल्याउँछ, र न्यायका निम्ति ईश्वर स्वयं गवाह बन्ने साहस देखाउनुहुन्छ। शान्त, भक्तिपूर्ण वातावरण, अनुशासित पूजापद्धति र स्थानीय श्रद्धाको उर्जाले यो मन्दिर यात्रुहरूको लागि केवल धार्मिक गन्तव्य होइन आन्तरिक आत्म–साक्षात्कारको पवित्र थलो हो रहेछ।
यात्राको अन्त्य–एक आरम्भ
यात्राको अन्तिम दिन आउँदा मनमा एक अनौठो मिलन थियो । एउटा पक्षमा गहिरो आनन्द, र अर्कोतिर एक किसिमको मौन शून्यता। शरीर अवश्य थाकेको थियो, तर आत्मा भने ताजगीले उज्यालिएको अनुभूति हुँदै थियो। हामीले देखेका ती धार्मिक स्थलहरू, छोएका ती प्राचीन शिलाहरू, सुनेका ती मन्त्रोच्चार, र अनुभूत गरेका ती शान्त तर गहिरा क्षणहरूले हामीलाई अवर्णनीय रूपमा स्पर्श गरेका थिए। कसैले मन्दिरको शिलामा आँखा चिम्लिएर भित्री भावनाको धार बगाए, कसैले सूर्यको किरणमा आत्मशान्ति देखे, त कसैले कुनै मूर्तिमा आफ्ना अनुत्तरित प्रश्नको उत्तर भेटे। जब हामी फर्किने तयारी गर्दै थियौं, तब थाहा भयो यात्राको अन्त्य भन्नाले गन्तव्यमा पुग्नु मात्र होइन, त्यो त आत्माको एउटा नयाँ यात्राको सुरुवात हो। गंगासागरदेखि पुरीसम्मको यो यात्राले हामी सबैका अन्तरमनमा श्रद्धा, सहकार्य, आत्मीयता र साधनाको बीउ रोपिदिएको छ । अब ती बीउहरू सम्झना, अनुभव र व्यवहारमा अंकुराउनेछन्।
“यो यात्राले हामीलाई केही नयाँ बनायो, केही पुरानो सम्झायो, र केही अनन्त कुराको स्वाद चखायो।” यही अनुभूतिको साथ हामी घर फर्कियौं नयाँ ऊर्जा, नयाँ दृष्टिकोण, र आत्मिक परिपक्वताको संगत लिएर।