भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार

२०८२ असार ३२ बुधबार १६:१३:०० मा प्रकाशित

राजविराज (सप्तरी) । कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ ।


भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाका पाँच जना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो ।


तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रम शोषणमा परेका तिरहुतका-४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कङ्कालिनी-८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँच जनालाई सकुशल उद्धार गरिएको हो ।

अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहनुभएका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर सङ्घको सहयोग र समन्वयमा उहाँहरूलाई उद्धार गरिएको स्पष्ट गर्नुभयो ।

नेपाल राष्ट्रिय मुसहर सङ्घ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष सहयोग र समन्वयसहित सञ्चारकर्मी एवं इञ्जिनियर अभिनवको सक्रियतामा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताउनुभयो । रासस