गैँडाकोटमा आधारभूत तहसम्मको शिक्षा निःशुल्क, ६ करोड ५ लाख बजेट

२०८२ असार ६ शुक्रबार १५:०५:०० मा प्रकाशित

नवलपरासी (वर्दघाट सुस्तापूर्व) । गैँडाकोट नगरपालिकाले आधारभूत तहसम्मको शिक्षा निःशुल्क गर्ने भएको छ । आधारभूत तहसम्मको शिक्षा संविधानमा अनिवार्य र निःशुल्क भनिएपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षबाट गैँडाकोट नगरपालिकाले आधारभूत तहसम्मको शिक्षा निःशुल्क गराउने भएको छ ।

 

गैँडाकोट नगरपालिकाको १७ औँ नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले भन्नुभयो “निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि सामुदायिक विद्यालयमा आधारभूत तहसम्म अभिभावकबाट बाध्यात्मक रुपमा लिइने सहयोगलाई पूर्ण रुपमा निषेध गरी विद्यालय सञ्चालनको लागि आवश्यक न्यूनतम स्रोतको व्यवस्था गर्दै कक्षा ५ सम्मको शिक्षा निःशुल्क कार्यक्रमलाई आधारभूत तहसम्म विस्तार गरिनेछ ।” गैँडाकोट नगरपालिकाले निशुल्क शिक्षा कार्यान्वयनका लागि अघिल्लो वर्ष कक्षा ५ सम्मको शिक्षा निःशुल्क गरेको थियो ।

शुक्रबार गैँडाकोट नगरपालिकामा भएको नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख शान्ति कोइरालाले आधारभूत तहसम्मको शिक्षा निशुल्क कार्यान्वयनका लागि ६ करोड ५ लाख विनियोजन गर्नुभएको छ । नगरउपप्रमुख शान्ति कोइरालाले भन्नुभयो “निशुल्क शिक्षालाई प्रभावकारीरुपमा कार्यान्वयनका लागि सामुदायिक विद्यालयमा आधारभूत तहसम्म अभिभावकबाट बाध्यात्मक रुपमा लिइने सहयोगलाई पूर्ण रुपमा निषेध गरी विद्यालय सञ्चालनको लागि आवश्यक न्यूनत स्रोतको व्यवस्था गर्दै कक्षा ५ सम्मको शिक्षा निशुल्क कार्यक्रमलाई आधारभूत तहसम्म विस्तार गर्न शिक्षा तर्फ ६ करोड ५ लाख बजेट विनियोजन गरेको छु ।

नगर उपप्रमुख कोइरालाले संघीय सरकारसँगको समन्वयमा शिक्षक बैंकको अवधारणालाई आत्मसाथ गरिने र शिक्षक बैंक व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले गरेको सबैभन्दा राम्रो कामको रुपमा निशुल्क शिक्षा कार्यान्वयलाई लिइएको छ ।

गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैँया विनियोजन गरेको छ ।