राष्ट्रिय स्वतन्त्र पार्टी गैडाकोट ५ ले जेष्ठ नागरिकलाई सम्मान गर्यो

गैडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी गैडाकोट वार्ड नम्बर ५ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा बिहीबार सिर्जना तमु महिला समूह विकास टोलको सभाहलमा गैंडाकोट वार्ड नं ५ भित्र रहेका जेष्ठ नागरिकहरूलाई सम्मान गरीएको हो।
कार्यक्रममा गैंडाकोट वार्ड नं ५ भित्र रहेका ८० वर्षदेखि १०५ वर्षसम्मका ८६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको गैडाकोट वार्ड नम्बर ५ का वडा सभापति घनश्याम खरेलले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य करुणा सागर सुवेदीले जेष्ठ नागरिकहरू हाम्रो समाजका आधारशिला भएको उल्लेख गर्नुभयो। केन्द्रीय सदस्य सुवेदीले जेष्ठ नागरिकप्रतिको कदर र सम्मानले भावी पुस्तालाई संस्कार र सेवा भाव सिकाउने बताउनुभयो । “जेष्ठ नागरिकको स्वास्थ्य, सुरक्षाका साथै सामाजिक सुरक्षाको प्रवद्र्धन गर्न नीति निर्माणमा पार्टीले जोड दिदै आएको छ” सुवेदीले भन्नु भयो।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति नरेश्वर लामिछानेले जेष्ठ नागरिकहरूका अनुभव र योगदानले देश निर्माणमा ठूलो भूमिका खेलेको भन्दै, उहाँको सम्मान गर्नु हामी सबैको कर्तव्य भएको बताउनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिक कल्याणकारी समाजका पूर्व अध्यक्ष नारायण तिवारी, जेष्ठ नागरिक पशुपति रिजाल, जेष्ठ नागरिक गोवर्धन अधिकारी, विकास टोल विकास संस्थाको अध्यक्ष सुशीला गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी गैडाकोट वार्ड नम्बर ५ का वडा सभापति घनश्याम खरेलको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट नगरपालिका वार्ड नं ५ वडा उपसभापति संगीता पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय स्वतन्त्र पार्टी गैडाकोट नगर सचिव अस्मिता घिमिरेले गर्नुभएको थियो।