विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध

नवलपरासी पूर्व। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबास स्थित विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।
मंगलवार राति परेको वर्षा सँगै खोलामा आएको बाढीले विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको प्रहरीले जनाएको छ । यस अघि मंगलवार दिउसो निर्माण गरिएको अस्थायी डाइभर्सन गए राति परेको वर्षाले फेरि बगाएको हो । अहिले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो ।
तत्काल यो सडक खुल्ने अवस्था नरहेकाले यो मार्ग भएर यात्रा नगर्न प्रहरीले सबैसित आग्रह गरेको छ । खोलामा पानीको बहाव घटेपछि डाइभर्सन मर्मतको काम गर्ने नेपालले बताउनुभयो ।
दाउन्नेमा निर्माणाधीन नयाँ पक्की पुल असार १४ गतेदेखि सञ्चालन हुने बताइएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो ।
गत पुस महिनामा ओभर लोडको भारतीय गाडिएको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको हो ।