अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाका विद्यालयहरु तीन दिनका लागि बन्द

चितवन। भरतपुर महानगरपालिकाले अत्याधिक गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण बालबालिकाहरूको विद्यालय आवागमन र पठनपाठनमा समस्या देखिएपछि स्थानीय जनप्रतिनिधि, अभिभावक तथा विद्यालयको सुझाव अनुसार महानगरपालिकाले (आज) जेठ २८ गतेदेखि ३० गते (शुक्रबार)सम्म विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । महानगरले यसअविधमा बालबालिकाहरुलाई दिउँसोको समयमा घरबाहिर हिड्डुल नगर्न, नदी पोखरीहरुमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन अभिभावकहरुमा अनुरोध समेत गरेको छ ।
अत्याधिक गर्मीकै कारण खैरहनी नगरपालिकाले पनि आज एक दिनका लागि नगरभित्रका सामुदायिक तथा सबै संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । यस वर्षको वर्षे सट्टा बिदा दिने गरी यो निर्णय गरिएको उहाँले बताउनुभयो ।