पश्चिमी तथा स्थानीय वायुको प्रभावः एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा मुख्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस वर्षको मनसुन मिति २०८२-०२-१५ गते बिहीबार रातीबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको हो।