गैंडाकोट नगरपालिकाले गर्यो अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम

२०८२ जेठ १६ शुक्रबार १९:०३:०० मा प्रकाशित

गैँडाकोट । गैंडाकोट नगरपालिकाको आयोजनामा आज शुक्रबार अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। गैडाकोट नगरपालिकाको आयोजनामा विजय विकास स्रोत केन्द्रको सभाहालमा सो तालिम भएको थियो साविक गैंडाकोट गैडाकोट वडा नम्बर १ देखि ९ सम्मका वडाहरूभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम गरिएको हो। 


तालिमको प्रशिक्षकका रूपमा भरतपुर महानगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शान्ताकुमारी पौडेल रहनुभएको थियो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूले आफूलाई मनोबल बढाएर अगाडि बढाउनुपर्ने बताउनुभएको छ। उहाँले गर्न नसक्ने केही कुरा पनि नहुने भएकाले आफ्नो क्षमता विकास सँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभएको छ र तालिममा सहभागीले क्षमता अभिवृद्धि तालिम उत्कृष्ट रहेको बताउँदै सो तालिमले मनोबल बढेको पनि बताएका थिए।


गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास सिप विकास र आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभएको छ । उहाँले पहिले गरेका कामलाई पनि निरन्तरता दिँदै अब आवश्यकता के रहेको छ सोही अनुसारका काम गर्ने पनि बताउनुभयो । 


गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आत्मबल उच्च बनाएर अगाडि बढ्नुपर्ने बताउँदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग र विभिन्न किसिमका कामहरु गर्ने पनि बताउनुभएको छ।


कार्यक्रमको आर्थिक विकास शाखाका प्रमुख देवेन्द्र गौतमले समापन गर्नुभएको थियो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूको मनोबल उच्च बनाउन नगरपालिकाले सक्दो प्रयास गर्ने र अपाङ्गता भएका व्यक्ति स्वयंले पनि आफ्नो विकासका लागि काम गर्न जागरुक हुनुपर्ने बताउनुभएको छ ।


कार्यक्रममा नगरकार्यपालिका सदस्य ईश्वरी जिसी, गैंडाकोट नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सीता कुमारी लामिछाने, महिला तथा बालबालिका शाखाकै कर्मचारी नरमाया राना लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरकार्यपालिका सदस्य ईश्वरी जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने गैडाकोट वडा नं १ देखि ९ वडाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको एक दिने क्षमता अभिवृद्धि तालिममा सहभागिता रहेको थियो ।