१४ वर्ष मुनिका छात्रहरूको फुटबल प्रतियोगिताको उपाधि विजय सामुदायिकले जित्यो 

२०८२ जेठ १७ शनिबार १९:०२:०० मा प्रकाशित

 गैंडाकोट । नवलपरासी पुर्व गैंडाकोटमा सम्पन्न १४ वर्ष मुनिका छात्रहरूको फुटबल प्रतियोगिताको उपाधि विजय सामुदायिक शिक्षा सदनले जितेको छ ।
स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेलकुद ,राष्ट्रिय गरिमा तथा सामाजिक रूपान्तरका लागि खेलकुद भन्ने मूल नाराका साथ गैंडाकोट खेलकुद समितिको आयोजनामा शनिबार गैंडाकोट क्षेत्रीय रंगशाला ३,४र ८ मा भएको फाइनल खेलमा विजय सामुदायिक शिक्षा सदनले नवजीवन टोल विकास संस्था भरतपुर ११ लाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । विजय सामुदायिकका लागि विजयी गोल जर्सी नम्बर १९ का प्रसुन गुरुङले गर्नुभएको हो । प्रतियोगितामा नवजीवन टोल विकास संस्था भरतपुर ११ ले दोस्रो स्थान हासिल गरेको छ ।


यसअघि पहिलो सेमीफाइनल खेलमा विजय सामुदायिक शिक्षा सदनले शिवनगर टोल विकास संस्थालाई ४–० गोल अन्तरले हराउदै र दोस्रो सेमिफाइनल खेलमा नवजीवन टोल विकास संस्था भरतपुर–११ ले भेल्लनटाडि टोल गैंडाकोट–१६ लाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेका हुन । प्रतियोगितामा विजयी समूहलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको गैडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले बताउनुभयो।


कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले बालबालिकाको सर्वांगीण विकासमा खेलकुदको भूमिका महत्वपूर्ण छ ,बाबु नानीहरू हाम्रो देशको भविष्य हुन, पढाइ मात्र होइन, खेलले हामीलाई अनुशासन, मेहनत, टीमवर्क र इमान्दारी सिकाउँछ जुन जीवनमा सफल हुनका लागि अत्यन्तै जरूरी रहेको बताउनु भयो । अध्यक्ष भट्टचनले भन्नुभयो, शारीरिक तन्दुरुस्ती र मानसिक सशक्तिकरणका लागि खेलकुद अपरिहार्य माध्यम हो ।यस्ता प्रतियोगिताहरूले बालबालिकामा अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्छन्। स्थानीय तह, अभिभावक र निजी क्षेत्र मिलेर यस्ता कार्यक्रमलाई निरन्तरता दिन जरुरी छ।


कार्यक्रममा गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तह, विद्यालय र अभिभावकहरू बीच समन्वय आवश्यक रहेको बताउनुभयो। अध्यक्ष कार्कीले भन्नुभयो खेलकुद केवल शारीरिक क्रियाकलाप मात्र होइन, यो व्यक्तित्व विकास, अनुशासन, नेतृत्व र राष्ट्रिय गौरवको माध्यम पनि हो । हाम्रो समितिले खेलकुदको विकासका लागि विगत केही वर्षदेखि विद्यालयस्तर देखि समुदायस्तर सम्म विभिन्न कार्यक्रम गर्दै आइरहेको छ प्रतियोगिताको उद्देश्य पनि यही हो नानी बाबुहरूलाई फुटबलप्रति आकर्षित गर्नु, उनीहरूको क्षमता पहिचान गर्नु र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने अध्यक्ष कार्कीले भनुभयो ।


प्रतियोगिता १७ औँ गणतन्त्र दिवसको अवसरमा शुरु भएको थियो । प्रतियोगितामा चितवन तथा नवलपुरका विद्यालय र टोल विकास संस्था गरी ३२ समूहको सहभागिता रहेको थियो। 


कार्यक्रममा गैंडाकोट वडा न २ का वडा अध्यक्ष प्रकाश सापकोटा,गण्डकी प्रदेश फुटबल सघको कोषाध्यक्ष डिल कुमारि घिमिरे, गण्डकी प्रदेश भलिबल संघ सदस्य एवम् भलिबल राष्ट्रिय रेफ्री गजेन्द्र वन,जिल्ला फुटबल सघ नवलपुर सदस्य गौरव भक्त अधिकारी, भलिबल संघ नवलपुर उपाध्यक्ष रमेश तिवारी ,गैंडाकोट खेलकुद समिति सह कोषाध्यक्ष एवम् पतनादेवि टोल विकास संस्था अध्यक्ष इश्वरी खत्री, गैंडाकोट वडा न ६ खेलकुद विकास समिति अध्यक्ष एवम् एन्फा फुटबल कोच आसु गुरुङ, एन्फा फुटबल कोच सृजना रेग्मी लगायत गैंडाकोट खेलकुद समितिका पदाधिकारी, खेलकुद प्रेमी व्यक्तित्व, विद्यालयका शिक्षक, जनप्रतिनिधि, समाजसेवी व्यक्तित्व ,बुद्धिजीवी व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो।


प्रतियोगितामा सह.आयोजकको रूपमा फुटबल प्रशिक्षक टिम गैंडाकोट रहेको छ। प्रतियोगिताको संयोजक फुटबल प्रशिक्षक एवं एन्फा फुटबल कोच सुवास तामाङ रहनुभएको छ। कार्यक्रमको सहजीकरण एन्फा फुटबल कोच प्रशान्त रेग्मीले गर्नुभएको थियो।