कर्णाली राजमार्ग चार दिन बन्द हुने

२०८२ जेठ १७ शनिबार १७:२९:०० मा प्रकाशित

कालिकोट । कर्णाली राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ । कर्णाली राजमार्गको खुलालु-लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो ।

 

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनुभयो ।  ‘यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म यो सडकखण्ड बन्द रहनेछ’, उहाँले भन्नुभयो, ‘कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन् भने हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिनेछ ।’

सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु-लालीघाट सडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्माण कार्य सहज बनाउन करिडोरको करिब एक किलोमिटर खण्ड चार दिन बन्द गर्नुपरेको प्रशासनले जनाएको हो ।