महिला क्षमता अभिबृद्धिका लागि गैँडाकोट ५ मा वाद्यवादन तालीम शुरु

गैँडाकोट । महिला क्षमता अभिबृद्धिका लागि गैंडाकोट नगरपालिका वडा नं ५ ले वडाभित्र रहेका महिलाहरुका लागि एक महिने बाद्यवादन प्रशिक्षण बुधबारबाट सुरु गरेको छ ।
स्थानीय सांस्कृतिक कला प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको तालिममा हार्मोनियम, तबला, मादल लगायत परम्परागत बाजाहरूमा प्रशिक्षण दिइने गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाले सांगीतिक कला सशक्तिकरणले महिलाहरूमा आत्मविश्वास बढाउने र कला संगीतको संरक्षण हुने विश्वास व्यक्त गर्दै हाम्रा गाउँघरमा लोप हुँदै गएका परम्परागत बाजाहरूलाई बचाउन यस्ता तालिमले ठूलो भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा टोल विकास संस्था समन्वय समिति सदस्य गोविन्द घिमिरेले बाद्यवादनमा महिलाहरूको ठूलो सहभागिता हुनु सकारात्मक पक्ष भएकाले वडाले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै जानुपर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य द्रोर्ण वन सन्यासीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । बिभिन्न सामाजिक व्यक्तित्वको उपस्थिती रहेको थियो ।
एक महिने उक्त प्रशिक्षण कार्यक्रममा वडा नम्बर ५ भित्रका १९ टोल विकास समितिका ५२ जना महिलाहरूको सहभागिता रहेको छ। संगीतकार द्वय राम बहादुर थापा र लेखनाथ न्यौपानेले प्रशिक्षक रूपमा प्रशिक्षण दिनुहुनेछ । सो तालिमको गामबेसी सस्कृतिक कला केन्द्र जिल्ला कार्यसमिति गैंडाकोटले सहजीकरण गरेको छ । औपचारिक कार्यक्रमको नगरकार्यपालिका सदस्य शान्ति न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।