नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिदा तीन जना घाइते

२०८२ जेठ १५ बिहीबार ०७:३४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको नागढुंगा-नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ ।

 

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


बस नालीमा खस्दा दुई जना यात्रुलाई सिसाले काटेर सामान्य घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।

 
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेका थिएनन् । आज बिहानपख नागमन्दिर नजिक बस दुर्घटना भएपछि झन् बढी सवारी जाम हुँदा यात्रुहरु हैरान भएका छन् । बाटो खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्नसक्ने अनुमान छ ।

ताजा खबर