नारायणी मा.विले मनायो, महिनावारी स्वच्छता दिवस

२०८२ जेठ १५ बिहीबार ०५:४४:०० मा प्रकाशित

गैंडाकोट । महिनावारी स्वच्छता दिवसको अवसरमा नारायणी माध्यमिक विद्यालयले बुधबार महिनावारी सम्बन्धि सचेतनामूलक अभिमुखीकरण तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेको छ । 


महिनावारीलाई हामीले गलत रुपमा व्याख्या र विवेचना गरेका छौँ । महिलामा हुने हर्मोनका कारण डिम्बासयबाट डिम्ब निष्कासन हुन्छ । विस्तारै पाठेघरको भित्ता बाक्लो हुन्छ र बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर रगत बन्छ यसलाई हामी महिनावारी वा रजस्वला भन्छौँ । यसरी महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो तसर्थ महिनावारीका कारण भेदभाव  र हिंसा  गर्न नहुने कुरामा नारायणी माध्यमिक विद्यालयकी विद्यालय नर्स अस्मिता अधिकारीले सहजीकरण गर्दै बताउनुभयो ।


कार्यक्रममा विद्यालय नर्स अधिकारीले महिनावारीको समयमा खानपान र सरसफाईमा विशेष ध्यान नपुर्याएमा विभिन्न स्वास्थ्य समस्या आउने हुँदा सरसफाइमा ध्यान दिन विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले महिनावारीको समयमा स्वच्छताका लागि प्रयोग गरिने सेनिटरी प्याड लगायतका विभिन्न साधनका बारेमा र कपडाको प्याड निर्माण गर्ने तरिकाका बारेमा र महिनावारीको समयमा आवश्यक पर्ने पौष्टिक तत्वका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।


महिनावारीको समयमा कर्णाली र सुदुर प्रदेशमा छाउगोठमा बस्नुपर्ने बाध्यताका कारण कुनै न कुनै यातना पाउने गरेको पाइन्छ तर अन्य प्रदेशमा छाउगोठ नभए पनि घर भित्रै अलग बस्नुपर्ने बाध्यताका कारण विभेद हुने गरेको बताउनुभयो । यो प्राकृतिक प्रक्रिया भएकाले विभेद अन्त्य समाज निर्माण गर्नका लागि विद्यार्थीहरुले नै सचेतना फैलाउनुपर्ने कुरामा जोड दिनुभयो ।


कार्यक्रम सहायक प्रधानाध्यापक लालचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको महिनावारी सम्बन्धि सचेतना मूलक अभिमुखीकरण तथा हाजिरी जवाफ प्रतियोगितामा  नम्रता आलेको समूह प्रथम ,लक्ष्मी वि.कको समूह द्वितिय र सन्दिप  वि.कको समूह तृतिय भएका छन् । स्वास्थ्य सर्वेक्षणका अनुसार ८९ प्रतिशत किशोरीले महिनावारीकै कारण कुनै न कुनै विभेद भोग्ने गरेका छन् ।

२७ प्रतिशत किशोरीहरु महिनावारीका कारण हुने दुखाई, धेरै रगत बग्ने र सामाजिक बारबन्देजका कारण विद्यालय अनुपस्थित हुने गरेका छन् । ६० प्रतिशत भन्दा बढि विद्यालयहरुमा किशोरीका लागि छुट्टै शौचालय नभएका कारण महिनावारीका समयमा उपस्थित नहुने गरेको पाइन्छ । महिनावारीका समयमा कर्णाली प्रदेशमा ३६ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा २० प्रतिशत किशोरीहरु अलग्यै बस्न बाध्य रहेको राष्ट्रिय जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टमा उल्लेख रहेको छ । 
 

ताजा खबर