तरंग खोलामा काम थालेको ६ वर्षपछि पक्की पुल निर्माण

२०८२ जेठ १३ मंगलबार १७:४०:०० मा प्रकाशित

कावासोती । नवलपुरको बुलिंटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको सिमानामा पर्ने तरंग खोलामा निर्माण सुरु गरेको ६ वर्षपछि बल्ल पक्की पुल निर्माण भएको छ ।

 

२५ मिटर लामो पुल एक साताअघि ढलान भएको हो । चितवनको लोहनी एन्ड ब्रदर्श, लोहनी एन्ड सन्स जेभीले काम थालेको ६ वर्षपछि अघिल्लो साता पुल ढलान गरेको हो । गैँडाकोट बुलिङटार, डेढगाउँ हुँदै पाल्पाको रामपुर र पिपलडाँडा जोड्ने यो कालिगण्डकी करिडोरको पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा आवतजावतमा समस्या हुँदै आएको छ । कालिगण्डकी करिडोर अन्तर्गत बाँकी रहेका अन्य ४ वटा पुल निर्माण भएको छ ।

 

५ करोडभन्दा बढीको लागतमा निर्माण भएको तरंगा खोलाको पुलमा असारबाट गाडी हिँडाउन मिल्ने  करिडोरका इन्जिनियर अरुण खत्रीले बताउनुभयो । उहाँका अनुसार ७ सय मिटर सडक पुलको दायाँबायाँ निर्माण गर्न अझै बाँकी छ । पुल नजिकको एप्रोच रोड निर्माणको काम आउँदो वर्ष सम्पन्न हुने खत्रीले जानकारी दिनुभयो । तरंगा खोला पुल नारायणगढबाट २७ किलोमिटर उत्तर पश्चिममा पर्छ । नारायणगढ गैँडाकोट हुँदै कालिगण्डकी करिडोरको बुलिङटार पुग्नु अगावै यो तरंगा खोला पुल पर्दछ ।