आगलागीबाट एक महिनामा देशभर ११ जनाको मृत्यु, ६७ जना घाइते

२०८२ जेठ १३ मंगलबार १६:५५:०० मा प्रकाशित

काठमाडौँ । देशभर पछिल्लो एक महिनामा आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिनुभयो । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका रहेका छन् । आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उहाँको भनाई छ । नागरिक सचेत भए पनि धेरै घटना रोक्न सकिने जनाइएको छ ।


प्रहरीले एक महिनामा आगलागीबाट १ सय ५१ घर, १ सय १ गोठ र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १ सय ८९ पशुचौपाय समेत मरेका छन् । ती आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजार बढीको आर्थिक क्षति पनि भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आगलागीबाट १ सय १० परिवार विस्थापित नै भएका छन् । एक महिनामै ६ सय ३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रहरीका अनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएको छ । उक्त प्रदेशमा १ सय ४३ वटा आगलागीका घटना भएको छ । त्यसपछि १ सय ३६ वटा आगलागीका घटना कोशी प्रदेशमा भएको छ । यसैगरी, १ सय ४ वटा आगलागीका घटना मधेश प्रदेशमा भएको पनि प्रवक्ता थापाले बताउनुभयो ।

 

बागमतीमा ६४, काठमाडौँ उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ । धेरै आगलागीका घटना मानवीय कारणले हुने गरेको आगलागीसँग सम्बन्धित विज्ञहरूले बताउँदै आएका छन् ।रासस