परमेश्वरको मण्डलीद्वारा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान जारी

भरतपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान अन्तर्गत चितवनको भरतपुर-१ स्थित नारायणी नदी किनार परिसरमा विशेष सरसफाइ कार्यक्रम गरिएको छ । कार्यक्रममा करिब ३ सय जना स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।
पर्यावरणीय चेतनालाई अभिवृद्धि गर्दै पृथ्वीको पारिस्थितिक प्रणालीको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा सञ्चालन गर्दै आएको यस अभियानले नदी तथा समुन्द्रमा पुग्ने प्लास्टिकजन्य फोहोरको संकलन, एकल प्रयोग हुने प्लास्टिकको प्रयोग न्यूनीकरण र नागरिकमा जागरूकता अभिवृद्धिमा ध्यान केन्द्रित गर्दै आएको छ ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष केशव महर्जनले मण्डलीप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सकारात्मक गतिविधिहरूले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन भरतपुर महानगरपालिका वातावरण शाखाले स्वयंसेवकहरूका लागि मास्क, पञ्जा तथा फोहोर संकलन र व्यवस्थापनका लागि सवारी साधनको व्यवस्थासमेत गरेको थियो ।
सरसफाइ अभियानअन्तर्गत नारायणी नदी किनार क्षेत्रका पसलहरू, माइक्रो बस स्टपजस्ता स्थानहरूबाट ठूलो मात्रामा प्लास्टिकजन्य फोहोर संकलन गरिएको थियो। कार्यक्रमले पर्यावरणप्रति नागरिकको दायित्वबोध र सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको छ ।
विश्व वातावरण दिवस (जुन ५) र विश्व महासागर दिवस (जुन ८) को अवसरमा सो कार्यक्रम गरिएको थियो ।