महाबौद्ध गुम्बा तीन खोलेमा बुद्ध जयन्ती मनाइने 

२०८२ बैशाख २७ शनिबार १७:२२:०० मा प्रकाशित

चितवन । २५६९ औँ बुद्ध जयन्ती चितवनमा विशेष कार्यक्रम गरी मनाइने भएको छ । बौद्धधर्म सेवा समिति नेपालले बैशाख २९ गते भरतपुरको महाबौद्ध गुम्बा तीन खोलेमा विशेष कार्यक्रमको आयोजना गरी बुद्ध जन्यती मनाउन लागेको हो ।


बुद्ध जयन्तीलाई भव्य एवम् सफल बनाउनका लागि कार्यक्रममा शान्ति र्याली व्यवस्थापन, खाना व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वागत सत्कार,  जलपान व्यवस्थापन, मुर्ति मर्मत, रंग रोगन, टेन्ट व्यवस्थापन, प्रचार प्रसार सांस्कृतिक कार्यक्रम, पार्किङ व्यवस्थापन लगायतका १७ सदस्य मुल समिति सहित १५ उपसमिति समेत गठन गरेर तयारी अगाडि बढाइएको आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । तयारी स्वरुप महाबौद्ध गुम्बा परिसरमा सरसफाई लगायतका कामहरु सम्पन्न भइसकेको बौद्ध धर्म सेवा समितिका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो ।

 

गठन गरिएका विभिन्न उपसमितिहरुले आ-आफ्नो काम अगाडि बढाइरहेको, मञ्च व्यवस्थापनसँगै गुम्बा परिसर सजावटको काम भोली हुने, र्याली व्यवस्थापनसँगै अन्य कामहरु अगाडि बढिरहेको अध्यक्ष गुरुङले बताउनुभयो । सेवा समितिले बुद्ध जयन्तीको दिन महाबौद्ध गुम्बा तीनखोलेमा जम्मा भएर प्रहरी शिक्षालय, विशालचोक, विरेन्द्र क्याम्पसगेट, लायन्सचोक, सहिदचोक, मिलनरोड, लिलाचोक, रामेश्वर मन्दिर, सब्जिमण्डी हुँदै महाबौद्ध गुम्बासम्म शान्ति र्याली समेत निकालिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

 

बुद्ध जयन्तीका दिन बिहान बुद्ध पुजा अर्चना, शान्ति यात्रा, साड्डेगुञ्जा वरामबाट बुद्ध धर्मको धर्मदेशना बाचनका साथै दिउँसो २ बजेदेखि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना राखिएको समितिका सचिव दलबहादुर गुरुङले जानकारी दिनुभयो । 

 

बुद्धको शिक्षालाई फैलाउनु, शान्ति करुणा र अहिंसाको सन्देशलाई समाजमा प्रवद्र्धन गर्नका लागि प्रत्येक वर्ष आयोजना हुने कार्यक्रममा बौद्ध धर्मका अनुयायीहरूलाई ठूलो संख्यामा सहभागी भएर बुद्धको शिक्षालाई आत्मसात् गर्न र समाजमा शान्ति र सद्भावको सन्देश फैलाउन सचिव गुरुङले आह्वान गर्नुभयो ।