आजबाट गैँडाकोटमा कक्षा ८ को ग्रेडबृद्धि परीक्षा सुरु, भोली विज्ञान र नेपाली विषयको परीक्षा हुने

२०८२ बैशाख २१ आइतबार १८:४१:०० मा प्रकाशित

नवलपरासी पूर्व । गैँडाकोट नगरपालिका स्तरीय कक्षा ८ को आधारभूत तहको ग्रेडबृद्धि परीक्षा आजबाट सुरु भएको छ । गैँडाकोट नगरपालिकाको शिक्षा शाखाका अनुसार आज, भोली र पर्सी परीक्षा तोकिएको छ । गत चैत ८ गतेदेखि १५ गतेसम्म भएको परीक्षामा १५ सय ७८ जना विद्यार्थी सहभागि रहेका थिए ।


यस मध्ये ५ सय ८४ जना कक्षा ९ का लागि अहिले अयोग्य ठहरिएका थिए । बढीमा तीन विषयमा अवर्गीकृत (नन ग्रेडेड) भएका विद्यार्थीले फेरी ग्रेड बृद्धिको परीक्षा दिन पाउने व्यवस्था छ । गैँडाकोट नगरपालिकामा चारसय ५३ जनाले ग्रेडबृद्धिको परीक्षा दिन पाउने छन् ।


ग्रेडबृद्धि परिक्षा गैँडाकोट १० देखि १८ सम्मका सबै विद्यालयको परीक्षा केन्द्र गैँडाकोट १० को रत्नराज्य लक्ष्मी माविमा, गैँडाकोट १ देखि ९ सम्मका सबै विद्यालयका विद्यार्थीको परीक्षा केन्द्र गैँडाकोट ५ मा रहेको जनक नुमना माध्यामिक विद्यालयमा राखिएको छ ।


परीक्षा विहान ८ बजेदेखि १० बजेसम्म हुने नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईंले जानकारी दिनुभएको छ । बैशाख २१ गते आज गणित, बैशाख २२ गते भोली विज्ञान र नेपाली, बैशाख २३ गते पर्सी सामाजिक, स्थानीय विषय, अंग्रेजी र स्वास्थ्य विषयका परीक्षा हुनेछ ।