चितवनमा वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ, १०२ मुद्दा बाँकी

२०८२ बैशाख ८ सोमबार १५:५३:०० मा प्रकाशित

चितवन । चितवन डिभिजन वन कार्यालयमा १ सय २ मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् । आर्थिक वर्ष २०७६ र ७७ देखिका ती मुद्दा फछ्र्योट हुन बाँकी रहेका हुन् । आव २०७६ र ७७ देखि चालु आवको चैत मसान्तसम्मका १ सय ६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फछ्र्योट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तुसम्बन्धी मुद्दा हुन भने अन्य वन पैदावारसम्बन्धी रहेका छन् ।


आव २०७६ र ७७ मा १३ , २०७७ र ७८ मा ३७, २०७८ र ७९ मा ४३ मुद्दा दर्ता भएका थिए । यस्तै, २०७९ र ८० मा २७ , २०८० र ८१ मा २९ र चालु आवको हालसम्म २० मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाका २ सय ३० प्रतिवादी पक्राउ गरिएको छ । तीनै मुद्दाका ९९ फरार प्रतिवादी रहेको उहाँले जानकारी दिनुभयो । मुद्दामा संलग्न व्यक्तिहरुबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ ।


कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फछ्र्योट गर्ने विषयमा दुविधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरु गत आवबाट मात्रै फछ्र्योट हुन सुरु गरेको हो । फैजदारी संहिता आएसँगै रोकिएको फछ्र्योट गत आवमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फछ्र्योट सङ्ख्या कमी भएको हो ।

 

कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कानुन सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरु प्रदेश सरकारमा रहेकाले दुविधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो । उहाँले भन्नुभयो, “गत वर्ष मन्त्रालयको परिपत्र आएपछि काम सुरु गरेका हौँ ।” यसअघि डिभिजन वन कार्यालयले मुद्दाहरु अदालतमा पठाउनुपर्ने र अदालतमा मुद्दाका चाप बढी हुने भएकाले ढिला भएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले मुद्दा हेर्न पाउने भएपछि गत वर्ष र यस वर्षमा मुद्दाको फछ्र्योट हुने क्रम बढेको कार्यालयका प्रमुख कार्कीको भनाइ छ । रासस