यातायात कार्यालय नवलपुरद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

२०८२ बैशाख ८ सोमबार १३:४९:०० मा प्रकाशित

कावासोती । यातायात व्यवस्था कार्यालय नवलपुरले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९ सय ८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताउनुभयो  ।


“यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड १२ लाख ३६ हजार ८ सय २०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु चार करोड नौ लाख ५४ हजार ६ सय ५५, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु २३ लाख ५८ हजार ४ सय ६० र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६ सय राजस्व सङ्कलन भएको छ  । 

 

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैतमा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताए । यो अभियानअन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको जाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावका रूपमा चैतमा मात्र रु चार करोड ८० लाख २५ हजार ६ सय २५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख जैसवालले बताउनुभयो  ।

 

“प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्तदुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो, सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भएको प्रमुख जैसवालले बताउनुभयो  ।, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेको प्रमुख जैसवालको भनाई छ । 

 

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताउनुभयो । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको उहाँले जनकारी दिनुभयो ।  

 

“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”, सूचना अधिकारी  तिवारीले बताउनुभयो । “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।” गत आव २०८० र ८१ मा यातायात व्यवस्था कार्यालयले रु ३० करोड ३५ लाख ५३ हजार ९५३ सङ्कलन गरेको थियो ।