आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् ।
यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिनुभयो । आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उहाँले बताउनुभयो । “हामीले उपचार मात्रै होइन, उपचारपश्चात् रु एक हजार ५ सय खर्चसमेत उपलब्ध गराउँछौँ । खानबस्नको व्यवस्था मिलाइएको छ । यसबाट गत वर्ष छ जना र यस वर्ष १४ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ”, अस्पताल प्रमुख देवले बताउनुभयो ।
यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा यहाँको खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपालिका तथा मकालु र सभापोखरी गाउँपालिकाका एक एक जना लाभान्वित भएका छन् । शिविरमा २५ जनाको आङ खस्ने समस्या पहिचान भएको र बाँकीको चाँडै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।
अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् । यहाँ जिल्लाका १० स्थानीय तहमात्रै नभई छिमेकी जिल्ला भोजपुरका नागरिकले पनि सेवा लिने गरेका छन् । रासस