पौडी खेल्न गएका एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता भएका छन् । हिजो (मंगलबार) दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता भएका हुन् ।
मध्यविन्दु नगरपालिका वडा नं १२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालका अनुसार मध्यविन्दु १२ तमासपुरका १६ वर्षीय विजय पौडेल र १२ वर्षीय पवन पौडेल बेपत्ता भएका हुन् ।
घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिका वडा नम्बर १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए । उनीहरु बेपत्ता भएको जानकारी हिजो साँझ साढे ६ बजेतिर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गएराति १२ बजेसम्म उनीहरुको खोजतलास गरेपनि फेला नपरेकोले उनीहरुको खोजी भैइरहेको वडाध्यक्ष कुमालले बताउनुभयो ।