सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ गैँडाकोटको दोस्रो परिषद

२०८१ चैत १५ शनिबार १९:०७:०० मा प्रकाशित

गैँडाकोट । सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटको दोस्रो परिषद नारायणी सामुदायिक वन गैँडाकोटको सभाहलमा गरिएको छ । 
सामुदायिक वन उपभोक्ता महासंघका संघिय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले सामुदायिक वन मर्ज गर्न आवश्यक नभएको बताउनुभएको छ । सामुदायिक वनले नेतृत्व गर्न, वन संरक्षण गर्न सिकाएको हुनाले मर्ज गर्न नपर्ने बताउँदै मर्ज गर्न तम्सनेहरु कर्पोरेटबाट परिचालितहरु भएको बताउनुभएको छ । 

यस्तै सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष निर्मला कँडेलले स्थानीय महासंघले समूहहरुसँग मिलेर समन्वय र सहकार्य गर्दै अगाडी आएको बताउनुभयो । उहाँले वन संरक्षण, प्रवद्र्धनमा सबै जुटेर लाग्ने बताउदैँ अहिलेको समयमा वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताउनुभयो । 

प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला शर्माले प्रस्तुत गर्नुभएको थियो । यस्तै  गैँडाकोट ९ का कार्यबाहक वडाध्यक्ष ज्ञानप्रसाद खनाल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कमलप्रसाद पराजुली, गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, जिल्ला अध्यक्ष मिना भण्डारी, नारायणी सामुदायिक वनका अध्यक्ष नेत्रप्रसाद सापकोटा, सल्लाहकार दिनानाथ त्रिपाठी, सव डिभिजन वन कार्यालय गैँडाकोटका प्राबिधिक दिनेश केसी लगायतका अतिथीहरुले वन संरक्षण, सामुदायिक वन महासंघले गरेको काम र वन संरक्षण, संर्वद्धनका बिषयमा बोल्नुभएको थियो । 
उपाध्यक्ष यदुप्रसाद न्युरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य भगवती कँडेलले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न सामुदायिक वनका प्रतिनिधि, सरोकारवालाहरुको उपस्थिती रहेको थियो । यस्तै गैँडाकोट वडा नम्बर ९ ले स्थानीय महासंघलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको कार्यबाहक वडाध्यक्ष ज्ञानप्रसाद खनालले बताउनुभएको छ ।