डिभिजन वन कार्यालय नवलपुरले गर्यो अन्तरक्रिया, डढेलोको जोखिम बढि भएको १६ औँ जिल्लामा नवलपुर

कावासोति । डिभिजन वन कार्यालय नवलपुरले नवलपुरका सञ्चारकर्मी तथा पत्रकारसँग वन डडेलो सम्बन्धी अन्तरक्रिया गरेको छ । डिभिजन वन कार्यालय नवलपुरको सभाहलमा गरिएको अन्तरक्रियामा नवलपुरको वनको अवस्था डढेलो र डढेलोबाट वनलाई जोगाउन अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिएको थियो । नवलपुर ७७ जिल्लामध्ये डढेलोको जोखिम बढि भएको १६ औँ जिल्ला रहेको छ ।
गर्मी मौसम सुरु भएसँगै वनमा डढेलो हुने समस्या बढ्ने भएकाले त्यसको सचेतना र रोकथामका लागि प्रचारप्रसार गर्न वन कार्यालयले नवलपुरका विभिन्न संचार माध्यममा आबद्ध सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले वन डडेलो सम्बन्धी प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो। उहाँले नवलपुर क्षेत्रमा ५९ प्रतिशत वन क्षेत्र रहेको बताउनुभयो । सबैभन्दा धेरै ६९ दशमलब २८ प्रतिशत वन क्षेत्र विनयी त्रिवेणी र सबैभन्दा कम २७ दशमलब ०४ प्रतिशत वन क्षेत्र कावासोतीमा रहेको जानकारी दिनुभयो । मानविय कारणले बढि डढेलो लाग्न हुँदा सबै सचेत बन्न आवश्यक रहेकोमा उहाँको जोड थियो । उहाँले बिशेष गरी अप्रिल र मार्च महिनामा डढेलो बढि लाग्ने र यो समय सुख्खा बढि भएकाले अझै जोखिम हुने बताउनुभएको छ ।
कार्यक्रममा प्रस्तुतिकरणपछि सञ्चारकर्मीहरूले डिभिजन वन कार्यालयलाई विभिन्न जिज्ञासा एवं सुझावहरू राखेका थिए । कार्यक्रममा वन डडेलो रोकथामका लागि सञ्चार माध्यममा प्रचारप्रसार गर्ने सामग्रीहरू थप गरी बजेटको सुनिश्चितता गर्नुपर्ने, विद्यालय स्तरमा संरक्षण शिक्षा लैजानुपर्ने, समुदायमा हुने विभिन्न वनसँग सम्बन्धित कार्यक्रम तथा गतिविधिका बारेमा सञ्चारमाध्यमसँग सहजीकरण र समन्वय गरी अगाडि बढ्नुपर्ने जस्ता विषयहरूको बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मीका तर्फबाट भनाई राख्नु हुँदै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले विपतमा मिडियाको भूमिका अहम हुने हुँदा वन डडेलो लगायतका अन्य क्रियाकलापमा जिल्लाका मिडियाहरूसँग सहकार्य गर्न जिल्ला वन कार्यालयलाई आग्रह गर्नुभयो।
कार्यक्रममा जिल्ला वन कार्यालय नवलपुरका अध्यक्ष बसन्त केशव अधिकारीको अध्यक्षता रहेको थियो। जिल्लाका ३० भन्दा बढी सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण जिल्ला वन कार्यालयका वन अधिकृत शिशिर लम्सालले गर्नुभएको थियो ।