ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको पाँचौ साधारण सभा सम्पन्न

गैंडाकोट । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको पाँचौ साधारण सभा शनिबार सम्पन्न भएको छ । गैंडाकोट ४ स्थित किसान बचत तथा ऋण सहकारीको सहज सेवा केन्द्रको सभाहलमा कार्यक्रम भएकोे हो ।
कार्यक्रममा गैंडाकोट वडा नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले ज्येष्ठ नागरिक समाजका धरोहर भएको हुदाँ उहाँहरूबाट धेरै कुराहरू सिक्न सकिने बताउनुभयो । वडाध्यक्ष घिमिरेले ज्येष्ठ नागरिकको सहयोगका लागि आफू सदैव अगाडि रहेको समेत बताउनुभयो ।
ज्येष्ठ नागरिक कल्याणकारी नेपालका अध्यक्ष डिल्लीप्रसाद सिग्देलले ज्येष्ठ नागरिकहरूको योगदानलाई कदर गर्दै ज्येष्ठ नागरिकका लागि ज्येष्ठ जागरण मुखपत्र प्रकाशन गर्नुका साथै ९० वर्ष कटेका वृद्ध बुबाआमाहरूलाई सम्मान गरिँदै आइरहेकोे बताउनुभयो ।
सचिवको प्रतिवेदन प्रस्तुत गर्दै कार्यसमिति सदस्य राधिका कंडेल भट्टराईले संस्थाले ज्येष्ठ नागरिकलाई सेवा पुग्ने विभिन्न मठ मन्दिरहरुमा बाद्यवाधनका सामानहरु वितरण, विभिन्न तालिम एवं अनुभव आदानप्रदान कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य सचेतना, धार्मिक कार्यक्रमहरु गर्ने बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष युवराज रिमालले आर्थिक वर्ष २०८०-८१ कोे आयव्यय प्रस्तुत गर्नुभयो ।
ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष डि.आर पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको कार्यसमिति सदस्य राधिका कंडेल भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक सङ्घ सस्था, सामुदायिक वन, महिला समूहका प्रतिनिधी वा जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानमा ३ सय ३६ जना आजिवन सदस्यहरु रहेका छन् ।
]