नेदरल्यान्डवासीको आर्थिक सहयोगमा जनक प्रा. वि का २५ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

गैंडाकोट । नेदरल्यान्डवासी भिन्सेन्ट र फेर्दाको आर्थिक सहयोगमा जनक माध्यमिक विद्यालय गैंडाकोट प्रा.वि शाखा झपर्र्दीमा अध्ययनरत २५ जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई शुक्रबार शैक्षिक सामग्री प्रदान गरिएको छ । त्यसै विद्यालयका पूर्व विद्यार्थी भुवन तिमिल्सिना र उहाँकी श्रीमती सिलु भट्टराई तिमिल्सिनाको नेतृत्वमा २५ जना विद्यार्थीहरूलाई कपी, झोला, पेन्सिल, जेमेट्री बक्स र कलर पेन्सिल वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सिलु भट्टराई तिमिल्सिनाले विद्यार्थीहरुको शैक्षिक क्रियाकलापहरुमा सहयोग पुगोस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि विद्यालयका विपन्न विद्यार्थीहरूलाई विदेशी नागरिकको सहयोगमा शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको बताउनुभयो ।
जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी कंडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण भने त्यसै विद्यालय प्रा.वि शाखाका पूर्व संयोजक बामदेव घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा त्यसै विद्यालयका संयोजक कमला तिवारी, पूर्व वडाध्यक्ष एवं पम्पिङ खानेपानीका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, समाजसेवी कृष्णप्रसाद बगाले, विद्यालय व्यवस्थापन समितिका सदस्य दिनेशराज न्यौपाने, पूर्व विद्यालय व्यवस्थापन उपसमितिका सदस्य नन्दप्रसाद घिमिरे, मुना साकोसका अध्यक्ष मिलनराज घिमिरे, कोटेश्वर मन्दिर शिवालय सेवा समितिका अध्यक्ष कृष्णप्रसाद पराजुली, शिक्षक, अभिभावक, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।