गण्डकी बचत तथा ऋण सहकारी संस्थाद्धारा लेखा तथा बैठक व्यवस्थापन तालिमको शुभारम्भ

गैंडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार र शनिबार गरी दुई दिनको लागि लेखा तथा बैठक व्यवस्थापन तालिमको शुभारम्भ गरेको छ । वडामा दर्ता भएका गैंडाकोट १ र २ का २१ वटा महिला समूहबाट दुर्ई जना जनप्रतिनिधि (सचिव र कोषाध्यक्ष) गरी ४६ जनालाई क्षमता अभिवृद्धीका लागी गण्डकी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा तालिमको शुभारम्भ गरिएको हो ।
समुद्घाटन कार्यक्रममा गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले गण्डकी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सेवामूलक कार्यहरू गर्दै आइरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो । नीति, विधि र पद्धतिले संस्था अगाडि बढाउनका लागि पनि लेखा परीक्षण आवश्यक रहेको हुँदा राम्रोसँग तालिम लिन उपस्थित सम्पूर्णमा आग्रह गर्नुभयो ।
त्यस्तै, संस्थाका अध्यक्ष गोविन्द सुवेदीले यस तालिमले संस्थागत रूपमा मात्र नभई व्यक्तिगत रुपमा पनि सहयोग पुग्ने हुँदा तालिम उपयोगी रहेको बताउनुभयो ।
दुई दिनसम्म चल्ने तालिममा वरिष्ठ लेखा प्रशिक्षक रामप्रसाद शर्मा सिग्देलले लेखापालन सम्बन्धी आज शिक्षण गराउनुभयो भने समाजशास्त्री तारानाथ लामिछानेले बैठक व्यवस्थापन तथा बैठक पुस्तिका लेखन सम्बन्धी भोलि प्रशिक्षण दिनुहुनेछ । कार्यक्रम सञ्चालक समिति सदस्य एवं महिला उपसमिति संयोजक शुभेच्छा दली प्रधानको अध्यक्षतामा गरिएको थियो ।
त्यसैै संस्थाका कोषाध्यक्ष शकुन्तला न्यौपाने तिवारीले स्वागत मन्तव्य राख्नुभएको समुद्घाटन कार्यक्रमको सहजीकरण भने संस्थाका कार्यसमिति सदस्य प्रमिला सापकोटाले गर्नुभएको थियो ।