गैँडाकोट ४ मा आजदेखि ३ दिने कानुनी साक्षरता तथा जीवनपर्यन्त शिक्षा तालिम सुरु

गैँडाकोट । वडा महिला सञ्जाल गैँडाकोट ४ को आयोजनामा आजदेखि ३ दिने कानुनी साक्षरता तथा जीवनपर्यन्त शिक्षा तालिम सुरु भएको छ । गैँडाकोट ४ को सहयोगमा वडा कार्यालयको सभाहलमा तालिम सुरु भएको हो ।
महिलाहरुलाई कानुनी ज्ञानको आवश्यकता महसुस गरि यस कार्यक्रम राखिएको वडा महिला सञ्जाल गैँडाकोट ४ का अध्यक्ष अनिता काफ्ले घिमिरेले बताउनुभयो । उहाँले कानुन जान्दिन भन्न नपाइने र हरेक क्षेत्रका व्यक्तिले कानुनी जानकारी राख्नैपर्ने भएकाले पनि यस तालिमलाई प्राथमिकता दिएर राखिएको बताउनुभएको छ ।
कार्यक्रममा गैँडाकोट ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले गैँडाकोट ४ को वडा महिला सञ्जालले सक्रिय भएर फलदायि कार्यक्रमहरु गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले महिला दिदिबैनी सक्रिय भएर अगाडी आउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्न आवश्यक रहेको बताउनुभयो । वडाले अभिभावकका रुपमा सदैव राम्रा काममा सहयोग गर्ने पनि उहाँको भनाई छ ।
आजदेखि सुरु भएको ३ दिने कानुनी साक्षरता तथा जीवनपर्यन्त शिक्षा तालिमको प्रशिक्षकमा अधिबक्ताहरु फुलमाया रानाभाट, जनकराज ढुङ्गाना र दिपक सुबेदी रहनुभएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य शान्ता घर्ती, गैँडाकोट ४ का वडा सदस्यहरु हरि पौडेल, इन्दुकला घिमिरे, धनमाया परियार, नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सिता लामिछाने पौडेल समाजसेवीहरु टोलनाथ घिमिरे, संगिता काफ्ले घिमिरे, कमला तिवारी, दिनेश न्यौपाने, विभिन्न राजनितिक दलका प्रतिनिधिले तालिम राम्रो रहेको भन्दै सफलताको शुभकामना दिनुभयो । कार्यक्रमको सञ्चालन वडा महिला सञ्जाल गैँडाकोट ४ का सचिव शोभा घिमिरेले गर्नुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष माया कँडेल घिमिरेले राख्नुभएको हो ।