गैंडाकोटमा ज्येष्ठ नागरिकका लागी स्वास्थ्य सचेतनामूलक अन्तरक्रिया कार्यक्रम 

२०८१ चैत ६ बिहीबार १९:१५:०० मा प्रकाशित


नवलपरासीपूर्व । ज्येष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान भन्ने अभिप्रायका साथ गैंडाकोटमा बिहिबार अबको आवश्यकता नसर्ने रोगमा योग एवं प्राकृतिक चिकित्सा विषयमा एक दिने स्वास्थ्य  सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  गैंडाकोट ५ स्थित जनक नमुना माविको पुरानो भवनको सभाहलमा ज्येष्ठ नागरिक नगर सङघको आयोजना तथा गंैडाकोट नगरपालिकाकोे आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।


कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका डाक्टर आजाद पुरीले उपस्थित ज्येष्ठ नागरिकहरुलाई प्राकृतिक चिकित्साको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा गैडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले ज्येष्ठ नागरिकहरुलाई स्वस्थ आहार, हल्का योग अभ्यास, प्राकृतिक चिकित्सा पद्धतिको प्रयोग र नियमित स्वास्थ्य परीक्षणमा जोड दिन आग्रह गर्नुभयो ।


राष्ट्रिय महासंघ प्रतिनिधि तथा ज्येष्ठ नागरिक नगर सङ्घका अध्यक्ष मुक्तिनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जेष्ठ नागरिक वडासघ वडा नं ५ का अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा ९० वर्ष माथिका १ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । गैंडाकोट ६ बाट शुभारम्भ गरिएको सचेतनामूलक अन्तरक्रिया कार्यक्रमलाई आवश्यकता अनुसार अन्यवडामा गर्ने सोच बनाइएको ज्येष्ठ नागरिक नगर सङ्घका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताउनुभएको छ । 


जिल्लाका महासचिव जगन्नाथ खनाल, ज्येष्ठ नागरिक जिल्ला संघका सदस्य कृष्णप्रसाद पराजुली, गैँडाकोट नगरकार्यपालिका सदस्य शान्ति न्यौपाने, वडा सदस्य उषा परियार,  गैँडाकोट नगरपालिका महिला बालबालिका शाखाका राधा पौडेल र नरमाया राना, कालिका संस्कृत विद्यापीठका पूर्व प्राचार्य रामचन्द्र कंडेल, गैँडाकोट ५ टोलसञ्जालका अध्यक्ष कुमारी रेखा पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा विष्णुप्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो ।