गैँडाकोट नगरपालिका “उत्कृष्ट नगरपालिका पुरस्कार २०८१” बाट सम्मानित

नवलपरासी पूर्व । गैँडाकोट नगरपालिका “उत्कृष्ट नगरपालिका पुरस्कार २०८१” बाट सम्मानित भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा स्थानीय आर्थिक विकासको क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेकोले नेपाल नगरपालिकासंघको ३२ औँ स्थापना दिवशको अवसरमा गैँडाकोट सम्मानित भएको हो ।
नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीबाट गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले सम्मान पत्र ग्रहण गर्नुभएको छ ।
गैँडाकोट नगरपालिका गण्डकी प्रदेशकै एकमात्र उत्कृष्ट पालिका बन्न सफल भएको छ । कानुन तथा प्रशासन विज्ञ काशिराज दाहालको संयोजकत्वमा बनेको समितिले देशभरका पालिकाहरुबाट गैँडाकोट नगरपालिकालाई छनोट गरि सिफारिस गरेको हो ।
स्थानीय तहको आर्थिक विकासको क्षेत्र र सुशासनलाई प्रमुख आधार बनाएर छनोट समितिले काम गरेको थियो । काठमाण्डौको सोल्टी होटलमा कार्यक्रम भएको थियो ।