भरतपुरमा अटोको ठक्करबाट घाइते भएका स्कुटर चालकको झण्डै दुई महिनापछि मृत्यु

चितवन । भरतपुर महानगरपालिका–११ भोजाडमा गत पुस १४ गते अटोको ठक्करबाट घाइते भएका स्कुटर चालकको झण्डै दुई महिनापछि सोमवार मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१३ बस्ने वर्ष ५१ को चक्र बहादुर घिसिङ रहेका छन् ।
पुस १४ गते दिउँसो ना २ ह २५३५ नम्बरको अटोमा बा ७२ प ८९९९ नम्बरको स्कुटर ठक्कर खाँदा घिसिङ मध्यम घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो ।
मादक पदार्थ सेवन गरी स्कुटर चलाएका घिसिङलाई सुरुमा उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । स्कुटरबाट प्रहरीले करिब ३० लिटर घरेलु मदिरा बरामद गरेको थियो ।
घटना भएकै दिन राति ८ः४५ बजे घिसिङलाई उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएकोमा भोलिपल्ट बिहान ७ः१५ बजे थप उपचारको लागि काठमाडौँस्थित न्युरो अस्पताल लगिएको थियो ।
गत माघ २० गते पुनः चितवन मेडिकल कलेजमा ल्याई उपचार गरिएकोमा चिकित्सकले उपचार सम्भव नरहेको बताएपछि फागुन ३ गते परिवारले घिसिङलाई घर लगेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । हिजो (सोमवार) बेलुका ४ बजे घिसिङको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।